सार्थक ब्यूरो । भदौ २४ गतेको जेन–जी आन्दोलनपश्चात् मुलुकमा सुरक्षा चुनौती गहिरिँदै गएको नेपाल प्रहरीले आन्तरिक मूल्याङ्कनमार्फत निष्कर्ष निकालेको छ। आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हातहतियार र भागेका कैदीबन्दीहरू समाजमा आपराधिक गतिविधि बढाउन सक्ने भन्दै प्रहरीले तयार पारेको प्रतिवेदनले गम्भीर चिन्ता व्यक्त गरेको छ।
प्रहरीका अनुसार हालसम्म १ हजार २ सयभन्दा बढी हतियार, करिब १ लाख राउन्ड गोली, रबर गोली, अश्रुग्याँस सेलसहितका सामग्री लापत्ता छन्। आन्दोलनको हिंसामा २६ कारागार तथा बन्दीगृह भत्किँदा १४ हजार ४३ कैदीबन्दी भागेका थिए, जसमा अझै ७ हजारभन्दा बढी फरार छन्। प्रतिवेदनले यसबाट सशस्त्र समूह उदाउने खतरा रहेको उल्लेख गरेको छ।
हिंसात्मक प्रदर्शनका क्रममा प्रहरीका १ सय ९७ भवन पूर्ण रूपमा जलेका वा ध्वस्त भएका छन् भने २ सय ५८ संरचनामा आंशिक क्षति पुगेको छ। यस्तै, ५ सय २५ सवारीसाधन र सञ्चार उपकरणसहित ठूलो संख्यामा सामग्री लुटपाट वा जलाइएका छन्। क्षति पुगेका सामग्रीमध्ये एचएफ सेट, मोबाइल सेट, ह्यान्डहेल्ड सेट, रिपी सेट, बेस सेट, ब्याट्री, चार्जर, मेटल डिटेक्टर, वाक थ्रु गेट, एक्सरे स्क्यानर, सीसीटीभी लगायतका उपकरण परेका छन्।
प्रतिवेदनमा उल्लेख भएअनुसार, यस्ता घटनाले सुरक्षाकर्मीहरूको मनोबल खस्किएको छ। “जलेका ब्यारेक, कार्यालय, सवारीसाधन र लत्ताकपडाका कारण सुरक्षाकर्मीहरू मानसिक रूपमा विक्षिप्त बनेका छन्,” प्रतिवेदनमा भनिएको छ। आन्दोलनकै क्रममा तीन प्रहरी ज्यान गुमाएका थिए।
‘आन्दोलनपश्चात् उत्पन्न भएका र वृद्धि हुन सक्ने सुरक्षा चुनौतीहरू’ शीर्षकमा तयार प्रतिवेदनले आगामी दिनमा जघन्य आपराधिक घटना, असन्तुष्ट पक्षबीच द्वन्द्व, साइबर अपराध, सामाजिक सञ्जालमार्फत गलत सूचना र अफवाह फैलाउने गतिविधि बढ्ने सम्भावना औंल्याएको छ। साथै पुराना दल, विद्यार्थी संगठन र अन्य समूहका आन्दोलनका कारण फेरि दोहोरो झडपको अवस्था आउन सक्ने चेतावनी पनि दिइएको छ।
गृहमन्त्री ओमप्रकाश अर्याललाई जानकारी गराइसकेको प्रतिवेदन सार्वजनिक नगरिएको भए पनि सरकार पक्षले यस घटनाको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरिसकेको छ। आयोगलाई तीन महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।








Discussion about this post