जेन जेड आन्दोलन र घुसपैठ

सार्थक डेस्क।नेपालमा पछिल्ला दिनमा देखिएको जेन जेड समूहको आन्दोलनले मुलुकलाई गहिरो संकटतर्फ धकेलिदिएको छ। सुरुवातमा पवित्र भावना र सुधारप्रति अभिव्यक्त असन्तोषबाट शुरू भएको आन्दोलन अहिले विदेशी स्वार्थ र षड्यन्त्रको अखाडामा परिणत भएको देखिन्छ।
विश्वसनीय स्रोतहरूले औंल्याएझैं, यस आन्दोलनको पछाडि अन्तर्राष्ट्रिय गुप्तचर संस्था—सिआइए र रअको प्रत्यक्ष प्रभाव छ। उनीहरूको मूल लक्ष्य राष्ट्रवादी तथा विकासोन्मुख नेता केपी शर्मा ओलीलाई बदनाम गर्नु, अनि सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निराशा र अपमानको अवस्थामा पुर्‍याएर पार्टीलाई सत्ताबाट च्युत गराउनु हो भन्ने ठहर गर्न सकिन्छ। यसकै परिणामस्वरूप ओलीप्रति आक्रामक प्रचार, देउवामाथि अपमानजनक व्यवहार, र विभिन्न दलका नेता–कार्यकर्ताको घरमा आगजनीजस्ता घटनाहरू देखिए।
यो आन्दोलनले अहिलेसम्म ८० अर्ब भन्दा बढी निजी सम्पत्तिको क्षति गराइसकेको अनुमान गरिएको छ। सरकारी संरचना र सम्पत्तिमा परेको झ्यति अझ भयावह छ, जसको पूर्ण मूल्यांकन अझै हुन सकेको छैन। राष्ट्रलाई आर्थिक रूपमा अपांग बनाउन खोजिएको यस विनाशकारी मोडलाई कुनै संयोग मात्र भन्न सकिँदैन।
यस्तो विषम अवस्थामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ। उनको आठ सदस्यीय मन्त्रिपरिषद् एनजिओ–आइएनजिओसँग घनिष्ठ सम्पर्कमा रहेको भन्दै आलोचनामा परेको छ। कतिपय सूचनाले देखाउँछन् कि यी संस्थाहरूले आन्दोलनलाई चर्काउन र घुसपैठ गर्न ठुलो लगानी गरेका छन्।
जनताको भावना, युवाको ऊर्जा र राजनीतिक असन्तोषलाई बाह्य शक्तिहरूले कब्जा गर्ने खेल नेपालजस्तो संवेदनशील भूराजनीतिक राष्ट्रका लागि घातक हो। अहिले आन्दोलनका नाममा भएको घुसपैठले तिब्बत मुद्दा, गुम्बा–मठमन्दिर, र धार्मिक–सांस्कृतिक स्थलहरूमा चहलपहल बढाएको देखिनु यसैको सूचक हो। यसले नेपालको आन्तरिक शान्ति र सार्वभौमिकतामाथि ठुलो चुनौती खडा गरेको छ।
यस परिप्रेक्ष्यमा, अब सरकार र समाज दुवैले एकताबद्ध भएर सोच्नुपर्ने समय आएको छ। विदेशी हस्तक्षेप, एनजिओ–आइएनजिओको अनुचित प्रयोग, र युवालाई भड्काउने प्रवृत्तिलाई नियन्त्रण नगर्ने हो भने नेपाल अझ गहिरो अस्थिरतामा डुब्नेछ।
जेन जेड आन्दोलनको मूल भावना र मागलाई सम्मान गर्दै , विदेशी घुसपैठ र विनाशकारी तत्वलाई निषेध गरेर मात्र मुलुकलाई सही बाटोमा ल्याउन सकिन्छ। अहिले आवश्यक छ—राष्ट्रिय स्वाधीनता र अखण्डता जोगाउने ठोस कदम, विवेकपूर्ण नेतृत्व, र जनतालाई एकजुट गर्ने अडान। यही बाटो नेपाललाई संकटबाट पार लगाउने उपाय बन्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित