सार्थक ब्यूरो । ‘जेनजी’ आन्दोलनका क्रममा राजधानीमा प्रहरीको हत्या भएको घटनामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं प्रहरीको विशेष टोलीले काभ्रेका युवराज क्यापछाकीलाई नियन्त्रणमा लिएको हो। उनलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
भदौ २४ गते महाराजगन्जस्थित प्रहरी वृत्तअन्तर्गत कार्यरत प्रहरी जवान मिलन राय र उत्तम थापामाथि प्रदर्शनकारीहरूले आक्रमण गरी हत्या गरेको ठहर गरिएको छ। सोही प्रकरणमा संलग्न क्यापछाकीलाई पक्राउ गरिएको प्रहरीको दाबी छ।
प्रहरीले घटनाको अनुसन्धानका लागि भिडियो र तस्बिरको सहारा लिइरहेको छ। तोडफोड, आगजनी र लुटपाटमा संलग्न अन्य व्यक्तिहरूमाथि समेत पहिचान गरी कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।
सामाजिक सञ्जाल निष्क्रियता र व्यापक भ्रष्टाचारविरुद्ध भदौ २३ गते ‘जेनजी’ समूहले देशव्यापी प्रदर्शन गरेको थियो। सो दिन काठमाडौंमा प्रहरीको गोली लागी १९ युवाको ज्यान गएपछि भोलिपल्ट अर्थात् भदौ २४ गते विरोध आन्दोलन झनै चर्किएको थियो।








Discussion about this post