सार्थक ब्यूरो ।अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, विभाग तथा सरकारी कार्यालयहरूलाई खर्च व्यवस्थापनमा संयमता अपनाउन निर्देशन दिएको छ। मङ्गलबार जारी गरिएको विज्ञप्तिमा चालु आर्थिक वर्षको बजेट खर्च गर्दा प्राथमिकता र आवश्यकता अनुसार मात्रै स्रोत प्रयोग गर्न भनिएको छ।विज्ञप्तिमा उल्लेख छ, “राज्यका सीमित स्रोतलाई दक्ष, प्रभावकारी र जिम्मेवार ढङ्गले उपयोग गर्न अनावश्यक खर्च कटौती गर्नु आवश्यक छ।”
मन्त्रालयले तत्काल प्रभावबाट लागू हुने गरी विभिन्न नियम लागू गर्ने निर्णय गरेको छ। तीमध्ये प्रमुख प्रावधानहरू यसप्रकार छन् :
गैर–प्राथमिकतामा पर्ने अनावश्यक खर्च तुरुन्त घटाउने।
तालिम, गोष्ठी, भ्रमण र आतिथ्यमा आवश्यक भन्दा बढी खर्च नगर्ने।
सवारीसाधन खरिद तथा मर्मतमा संयमता राख्ने।
इन्धन, बिजुली, टेलिफोनजस्ता सेवामा मितव्ययिता गर्ने।
कार्यालय सञ्चालनका लागि अनिवार्य नभएका वस्तु वा सेवा खरिद नगर्ने।
बजेट कार्यान्वयनमा प्राथमिकताप्राप्त योजनालाई मात्र निरन्तरता दिने।
मासिक, त्रैमासिक र वार्षिक खर्च विवरण पारदर्शी ढङ्गले मन्त्रालयमा बुझाउने।
मन्त्रालयले यस्ता कदमले सरकारी खर्चमा अनुशासन कायम हुने, स्रोत व्यवस्थापन दायित्वपूर्ण हुने र सार्वजनिक वित्तीय पारदर्शिता अझै बढ्ने विश्वास व्यक्त गरेको छ।


















Discussion about this post