अराजकता, राजनीतिक परिवर्तन र सामाजिक मनोविज्ञानको उदाङ्गो रूप

सार्थक ब्यूरो ।जेनजी आन्दोलनको नाममा देशभर फैलिएको हिंसात्मक गतिविधिले नेपाललाई गम्भीर राजनीतिक, सामाजिक र मनोवैज्ञानिक प्रश्नको सामना गराइदिएको छ। आन्दोलन पश्चात सरकार परिवर्तन भए तापनि त्यस क्रममा देखिएका दृश्य र प्रवृत्तिले राज्यको सुरक्षा संरचना, नागरिक–समुदाय सम्बन्ध र आन्दोलनको चरित्रबारे गहिरो प्रश्न उठाएका छन्।
सरकारी निकाय, कार्यालय, स्थानीय तहदेखि व्यक्तिगत सम्पत्ति र व्यवसाय सम्म छानीछानी आक्रमण भएको तथ्यले आन्दोलनको मूलभूत उद्देश्य भन्दा अलग्गै अराजक चरित्र उजागर भएको छ। विशेषगरी प्रहरीमाथि गरिएको आक्रमण, लखेटेर मार्ने प्रयास, घाइते प्रहरीमाथि गरिएको दुर्व्यवहारजस्ता घटनाले सामाजिक सभ्यता र मानवीय मूल्य नै खण्डित भएको देखिन्छ।
यस्तो हिंसात्मक कार्यमा संलग्नहरू को हुन् भन्ने प्रश्न अझै खुला छ। स्थानीयहरूले पहिचान गर्न नसक्ने, बाहिरबाट आएका, प्रहरी वा स्थानीय विरुद्ध व्यक्तिगत रिसइवी राख्ने व्यक्तिहरू संलग्न रहेको सिसिटिभी फुटेज र प्रारम्भिक अनुसन्धानले देखाउँछ। यसले आन्दोलनलाई नागरिक असन्तोषभन्दा बढी, व्यक्तिगत बदला र आपराधिक प्रवृत्ति मिसिएको दङ्गाका रूपमा चित्रण गर्छ।
रोचक कुरा के छ भने, प्रहरीमाथि हिंस्रक आक्रमण भएको ठाउँकै समुदायले केही दिनमै पुनः प्रहरीलाई फूलमाला लगाएर स्वागत गरेको छ। यसले जन–समुदाय र सुरक्षाकर्मीबीचको सम्बन्ध असलै रहेको, तर आन्दोलनकै बहानामा बाहिरी वा अज्ञात समूहले हिंसालाई उक्साएको संकेत दिन्छ।
ललितपुर तुलनात्मक रूपमा शान्त रहनु, तर बानेश्वर, कोटेश्वरजस्ता क्षेत्रमा ठुलो क्षति हुनु, आन्दोलनलाई प्रभावित गर्ने स्थानीय कारकहरू के थिए भन्ने प्रश्न उठ्छ। उदाहरणका लागि, ललितपुरका विनोद महर्जनको मृत्युले पाटनतिर पनि आक्रमण चर्किएको देखिन्छ। यसले आन्दोलनलाई सामाजिक घटना होइन, व्यक्तिगत र भावनात्मक प्रतिक्रियाले समेत उक्साएको देखाउँछ।
प्रारम्भिक अनुसन्धानका आधारमा, प्रहरी चौकी र कार्यालय जलाउन आउने धेरैजना पहिले नै मुद्दा खेपेका वा कारबाहीमा परेका थिए भन्ने तथ्यले आन्दोलनलाई व्यक्तिगत रिसइवी पोख्ने अवसरका रूपमा प्रयोग गरिएको प्रमाणित गर्छ। यसले आन्दोलनलाई वैचारिक वा राजनीतिक संघर्षभन्दा बढी आपराधिकरण भएको गतिविधिका रूपमा चित्रण गर्छ।
प्रहरीलाई लखेटेर पिट्ने, शवमाथि समेत दुर्व्यवहार गर्ने दृश्यले नेपालको सामाजिक मनोविज्ञानमा गहिरो घाउ पुर्‍याएको छ। सामान्यतया शान्तिपूर्ण र सहनशील भनेर चिनिने समाजमा यस्तो नृशंस हिंसा हुनु, युवा पुस्ताको असन्तोष, बेरोजगारी, अवसरहीनता र राजनीतिको असफलताबाट जन्मिएको हताश मानसिकताको रूप पनि मान्न सकिन्छ।
जेनजी आन्दोलनको परिणामस्वरूप सरकार फेरियो, तर त्यसले छाडेको छाप अझ गहिरो छ। आन्दोलनको अराजक स्वरूपले लोकतान्त्रिक आन्दोलनको मर्यादालाई नै प्रश्नमा पारेको छ। यस्ता घटनाले नेपाललाई राजनीतिक अस्थिरता मात्र होइन, सामाजिक सद्भाव र नागरिक–सुरक्षा सम्बन्धलाई पनि चुनौती दिएको स्पष्ट हुन्छ।
अब राज्य र समाज दुवैले सिक्नुपर्ने पाठ भनेको, आन्दोलनलाई वैचारिक बाटोमा सीमित गर्ने, आपराधिकरण रोक्ने र असन्तोषलाई संस्थागत संवादमार्फत सम्बोधन गर्ने हो। नत्र, आन्दोलनको नाममा हिंसा दोहोरिन सक्ने खतरा सदैव रहनेछ।-जनआस्था बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित