बाजुराका महिलालाई धान काट्न चटारो

सार्थक ब्यूरो । चैत–वैशाखमा पाखो जमिनमा रोपिएको धान अहिले पाक्न थालेको छ। असोजको पहिलो सातादेखि राति–राति परेको पानीले बारीमा रहेका धान सखाप हुन सक्ने डरले यहाँका महिलालाई धान काट्न चटारो परेको छ।
बुढीनन्दा नगरपालिका–९ की स्थानीय महिला जनपुरा बिकले जानकारी दिँदै भनिन्, “बारीमा धान झुरीमुरी पाकिसकेको छ। त्यही समय घरमा दशैंको तयारी पनि सुरु भएको छ। त्यसैले दशैं अघि धान काट्न हामी बिहान–दिउँसो बारीमै व्यस्त छौँ।”
बिकका अनुसार महिलालाई धान काट्न चटारो छ भने पुरुषलाई काटेको धान चुटेर घर भित्र्याउने काममा चटारो परेको छ।
बाजुरामा धान खेती प्रायः दुईपटक गरिन्छ। चैत–वैशाखमा रोपिएको धान भदौ–असोजको दोस्रो हप्तासम्म पाक्छ भने असारमा रोपिएको धान असोजको तेस्रो हप्तादेखि कात्तिकसम्म पक्छ। हिमाली क्षेत्रका स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, बडीमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदहका महिलाहरूलाई अहिले धान काट्न चटारो परेको छ।
बाजुरामा करिब २ लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये केवल २२ हजार हेक्टर मात्र खेतीयोग्य छ। त्यसमध्ये ६ हजार ९१५ हेक्टरमा मात्रै धान खेती हुन्छ। यहाँ १३ हजार १४० हेक्टर जमिनमा धान उत्पादन भइरहेको छ र हेक्टरबाट औसत १.९ मेट्रिक टन धान उत्पादकत्व हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी जसिराम साहनीले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित