महेन्द्रनगर आँखा अस्पतालमा भारतीय बिरामीको आकर्षण बढ्दै

सार्थक ब्यूरो ।कञ्चनपुरको भीमदत्तनगरस्थित महेन्द्रनगर आँखा अस्पताल पछिल्लो समय भारतीय नागरिकहरूको समेत प्रमुख गन्तव्य बनेको छ । सस्तो दरमा गुणस्तरीय उपचार उपलब्ध भएकाले भारतका सीमावर्ती सहरहरूबाट बिरामी यहाँ आउने क्रम बढेको अस्पतालले जनाएको छ ।
नेत्र अधिकृत वीरसिंह धामीका अनुसार उत्तराखण्ड र उत्तर प्रदेशका धेरै नागरिकले आँखा परीक्षणदेखि शल्यक्रियासम्मका सेवा लिन महेन्द्रनगर रोज्ने गरेका छन् । उहाँले भन्नुभयो, “यहाँ अत्याधुनिक उपकरणमार्फत आँखाको जाँच हुन्छ र मोतियाविन्दु लगायतका शल्यक्रिया नियमित रूपमा गरिन्छ, जसका कारण नेपाली मात्र नभई भारतीय बिरामी पनि यहाँ आउँछन् ।”
गत आर्थिक वर्षमा मात्र २४ हजार ७८० जनाले आँखा उपचार सेवा लिएका थिए, जसमा एक हजार ६६७ जना भारतीय नागरिक रहेका थिए । सो अवधिमा ६३४ जनाको मोतियाविन्दु शल्यक्रिया गरिएको र पाँच हजार ४१३ जनालाई चश्मा वितरण गरिएको अस्पतालले जनाएको छ ।
विसं २०४२ मा आँखा उपचार केन्द्रका रूपमा स्थापना भएको यो अस्पताल २०७० सालमा स्तरोन्नति भई अहिले आधुनिक सेवा दिन सक्षम भएको छ । क्रमशः बिरामीको चाप बढ्दै जाँदा आव २०७७/७८ मा १८ हजार ८१० जनाले उपचार लिएका भए, आव २०८०/८१ मा यो संख्या बढेर २४ हजार ९५२ पुगेको छ ।
मोतियाविन्दु, आँखामा मासु पलाउने समस्या, चोटपटक र औषधि दुरुपयोगका कारण देखिने समस्या यहाँ आधुनिक प्रविधिबाट उपचार हुने गरेको छ । अस्पतालले हप्ताको शनिबार शल्यक्रिया गर्ने र बाँकी दिन ओपिडी सेवा सञ्चालन गर्ने जनाएको छ । दैनिक एकदेखि डेढ सय बिरामी सेवा लिन आउने गरेका छन् ।
यसबाहेक अस्पतालले विद्यालय र समुदायस्तरमा आँखा शिविरसमेत सञ्चालन गर्दै आएको छ । गत आवमा मात्र विद्यालयका छवटा शिविरमार्फत १,९१३ विद्यार्थीको आँखा जाँच गरिएको थियो, जसमा ४७ जनालाई चश्मा वितरण गरिएको हो । समुदायस्तरमा गरिएको शिविरमा १,५५० जनाले सेवा लिएका थिए, जसमा १५० जनाको शल्यक्रिया गरिएको थियो ।
अस्पतालले आँखा स्वास्थ्यबारे सचेतना बढाउन स्वयंसेवक र स्वास्थ्य चौकी इन्चार्जलाई तालिम दिने गरेको छ । नेत्र अधिकृत धामीले थप मेसिन भित्र्याउन सके जटिल किसिमका शल्यक्रियासमेत सम्भव हुने भन्दै यसका लागि प्रदेश सरकार र स्थानीय तहको सहयोग अपरिहार्य हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित