सार्थक ब्यूरो । भदौ २४ गतेको जेन–जेड आन्दोलनका क्रममा देशभरका कारागार र सुधारगृहबाट सामूहिक रूपमा भागेका कैदीबन्दीमध्ये ठूलो संख्यामा फिर्ता भइसकेका छन्।
कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म ८ हजार ५४ जना कैदीबन्दी पुनः नियन्त्रणमा आइसकेका छन्। तीमध्ये ७ हजार ७१३ जना कारागारका र ३४१ जना सुधारगृहका हुन्। विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार केही आफैं स्वेच्छाले आएका छन् भने केहीलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याइएको हो।
तर अझै ६ हजार ४९४ जना फरार अवस्थामा रहेका विभागले जनाएको छ। तीमध्ये ५ हजार ८७२ जना कारागारबाट र ६२२ जना सुधारगृहबाट भागेका हुन्। उनीहरूको खोजी कार्य निरन्तर भइरहेको विभागले जानकारी दिएको छ।
गत आन्दोलनका बेला मात्रै १३ हजार ५८५ कैदीबन्दी कारागारबाट र ९६४ जना सुधारगृहबाट भागेका थिए। सो क्रममा १० कैदीबन्दीको मृत्यु भएको समेत विभागले पुष्टि गरेको छ।
हाल देशभरका कारागारमा २३ हजार ४४६ कैदीबन्दी मात्र रहेका छन् भने आन्दोलनपूर्व कुल संख्या ३० हजार ६४६ थियो।








Discussion about this post