सार्थक ब्यूरो । जेन–जेड समर्थक समूहले अघि सारेका माग सम्बोधन गर्न बेलौरी नगरपालिकाले सर्वपक्षीय वार्ता समिति गठन गरेको छ।
नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले नगर प्रमुख पाेतीलाल चौधरीको संयोजकत्वमा वार्ता समिति बनाएको हो। समितिमा उपप्रमुख जोगराम चौधरी, प्रमुख प्रशासकीय अधिकृत, नौ जना कार्यपालिका सदस्य, पाँच दलका प्रतिनिधि र जेन–जेड समर्थक समूहका सात जना सदस्य रहने व्यवस्था गरिएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर बुढाथोकीका अनुसार वार्तामार्फत जेन–जेड समूहका मागहरूलाई छलफल गरी समाधान खोज्ने तयारी भएको हो।
यसै बैठकले भौतिक पूर्वाधार पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको कोषमा योगदान दिने निर्णय पनि गरेको छ। कर्मचारी र जनप्रतिनिधिले एक दिन बराबरको पारिश्रमिक कोषमा जम्मा गर्ने र साथै नगरपालिकाको आन्तरिक राजस्वबाट थप दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको उपप्रमुख चौधरीले जानकारी दिए।
नगरपालिकाले लिएको निर्णयले आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सरकारी संरचना पुनर्निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको छ। यता, मंगलबारदेखि पालिकास्थित कर्मचारीहरूले स्थगित गरेका सेवा पुनः सुचारु गरेका छन्।








Discussion about this post