सार्थक ब्यूरो।कैलालीको धनगढी उपमहानगरपालिका–२ भन्सार रोडमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ। करिब ६० लाख रुपैयाँ लागतमा निर्माण गरिएको यो केन्द्र स्वास्थ्य संस्थाबाट निस्कने जोखिमयुक्त फोहोरमैला व्यवस्थापन गर्ने उद्देश्यले स्थापना गरिएको हो।
यो केन्द्र धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हो भने यसलाई संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) अन्तर्गत विश्व वातावरण कोषको साना अनुदान कार्यक्रमले आर्थिक सहयोग गरेको छ। प्राविधिक सहयोग भने हेकाफ ३६० ले प्रदान गरेको हो।
केन्द्रमा स्वास्थ्य संस्थाबाट संकलित फोहोरलाई ‘अटो–क्लेभ मेसिन’ मार्फत उच्च तापक्रम र प्रेसरमा राखी निसङ्क्रमण गरी नष्ट गरिने बताइएको छ। यसले फोहोरमा रहेका जिवाणु नष्ट गर्ने भएकाले व्यवस्थापन सुरक्षित हुने हेकाफ ३६० की कार्यक्रम अधिकृत प्रेरणा डङ्गोलले जानकारी दिइन्।
धनगढीमा हाल १७१ वटा स्वास्थ्य संस्था रहेका छन्, जसमा २१ वटा उपमहानगरपालिकाको मातहतमा पर्छन्। यी संस्थाबाट दैनिक ठूलो मात्रामा स्वास्थ्यजन्य फोहोर उत्पादन हुने भएकाले अब स्रोतमै पृथकीकरण गरेर केन्द्रमा लैजाने तयारी गरिएको छ। घरदैलो खोप कार्यक्रमका क्रममा प्रयोग हुने झोला र सुई व्यवस्थापनका लागि पनि छुट्टै व्यवस्था मिलाइएको उपमहानगरपालिकाले जनाएको छ।
यसअघि धनगढीमा सामान्य फोहोर व्यवस्थापन हुँदै आएको भए पनि स्वास्थ्यजन्य फोहोर व्यवस्थापन ठूलो चुनौती बनेको थियो। नयाँ केन्द्र सञ्चालनमा आएपछि यस्तो समस्या समाधान हुने अपेक्षा गरिएको छ।
हेकाफ ३६० का कार्यकारी निर्देशक मोचन भट्टराईका अनुसार प्रारम्भिक वित्तीय अध्ययनले स्वास्थ्य संस्थाले उत्पादन गर्ने जोखिमयुक्त फोहोर व्यवस्थापन गर्न प्रति किलो ४३ देखि ५८ रुपैयाँसम्म सेवा शुल्क लाग्ने देखिएको छ।








Discussion about this post