सार्थक ब्यूरो।गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षतिले बीमा क्षेत्रमा ठूलो असर पारेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म दर्ता भएका बीमा दाबीको रकम २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ पुगेको छ।
प्राधिकरणले जनाएको छ, बीमा दाबीको विवरण आउने क्रम अझै जारी छ। हालसम्म सम्पत्ति बीमा ५९४, मोटर बीमा २,२०९, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमा १४४, परिवहन बीमा ११ र अन्य बीमाका ३० वटा गरी जम्मा २,९८८ वटा आवेदन दर्ता भएका छन्।
प्रदेशगत हिसाबले सबैभन्दा बढी बीमा दाबी बागमती प्रदेशमा परेको छ। सो प्रदेशमा मात्रै १,६०८ आवेदन पुगेका छन्। त्यस्तै कोशीमा ३७७, मधेशमा ३२३, गण्डकीमा २१९, लुम्बिनीमा २५४, कर्णालीमा २५ र सुदूरपश्चिममा १८२ वटा दाबी दर्ता भएका छन्।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा दर्ता भएको छ, जसको रकम ५ अर्ब ४५ करोड ९३ लाख रुपैयाँ बराबर छ। त्यसपछि दि ओरियन्टल इन्स्योरेन्समा ५ अर्ब २३ करोड २४ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा २ अर्ब ७९ करोड ६६ लाख, शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड १३ लाख र सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ५७ करोड ५९ लाख बराबरको बीमा दाबी परेको छ।
हालसम्म मुलुकभरका १४ निर्जीवन बीमा कम्पनी र चार माइक्रो इन्स्योरेन्स कम्पनीमा यी दाबी आवेदन दर्ता भएको बीमा प्राधिकरणले जानकारी दिएको छ।
भौतिक संरचनामा ठूलो क्षति भएको कारण बीमा दाबीको संख्या र रकम अझै बढ्ने अनुमान प्राधिकरणले गरेको छ।


















Discussion about this post