सार्थक ब्यूरो।नेकपा (एमाले) को सचिवालय बैठक जारी रहँदा पार्टी निकट युवाहरूले पदाधिकारीलाई सशक्त सन्देश पठाएका छन्। ‘परिवर्तनका लागि युवा समूह’ नामक अभियानमार्फत पठाइएका म्यासेजमा एमालेसँग अब दुई विकल्प मात्रै बाँकी रहेको स्पष्ट गरिएको छ– “सच्चिने कि सक्किने।”
अखिलका पूर्व सचिव समेत रहेका युवा नेता दीपेश पचाईँका अनुसार म्यासेजमा भनिएको छ, “हामी कम्युनिष्ट आन्दोलनको नयाँ मोडमा उभिएका छौँ। एमाले सक्कियो भने कम्युनिष्ट आन्दोलन पनि सक्किने बाटोमा जान्छ। देश संकटमा पर्छ। त्यसैले गलत नेतृत्वको बचाउ गरेर आन्दोलन र राष्ट्रलाई संकटमा लैजानु हुँदैन। पार्टीमा रूपान्तरण र पुनर्गठनको निर्णय आजै होस्, दशैंमा हामी नयाँ सन्देश बोकेर गाउँ जान्छौं।”
निराजन पौडेलले पनि सबै पदाधिकारीलाई एउटै सन्देश पठाइएको पुष्टि गरेका छन्।
यसैबीच, भदौ २३ को जेनजी विद्रोहपछिको पहिलो सचिवालय बैठकमा एमालेले आन्दोलनमा भएको जनधनको क्षति, तत्कालीन सरकारको भूमिका र आगामी बाटोबारे छलफल गरिरहेको छ। तत्कालीन प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसमा जारी विज्ञप्तिमार्फत जेनजी आन्दोलनताका गोली चलाउन आफूले आदेश नदिएको दाबी गरेका थिए। उनले सुरक्षाकर्मीबाहेक अन्य हतियारबाट पनि गोली चलेको सम्भावना औँल्याएका थिए।
ओलीले विद्रोहपछिको घटनाक्रमबारे स्मरण गर्दै भनेका थिए, “पाँच मिनेट ढिला भएको भए मलाई मारिन्थ्यो। शेरबहादुरजीलाई घाइते बनाए, मलाई भने मार्ने तयारीमै थिए। अन्ततः सेनाले हेलिकोप्टरमार्फत शिवपुरी ब्यारेक पुर्याएर ज्यान जोगायो।”
२४ भदौ दिउँसो उनले राजीनामा दिएपछि मात्र सेना उनको रेस्क्युमा जुटेको थियो। ओली, उनकी पत्नी राधिका शाक्य र मुख्य सल्लाहकार विष्णु रिमाललाई सेनाले शिवपुरीस्थित ब्यारेक पुर्याएको थियो भने अन्य शीर्ष नेता भने प्रहरीको सहयोगमा सुरक्षित बनेका थिए।
जेनजी आन्दोलनका क्रममा २३ भदौमा १९ युवाको मृत्यु भएपछि आन्दोलन झनै चर्किएको थियो। सुरक्षाप्रमुखहरूले तत्कालीन प्रधानमन्त्रीलाई राजनीतिक निकास दिन आग्रह गरे पनि ओली प्रारम्भिक चरणमा अस्वीकार गर्दै आक्रोशित बनेका थिए। अन्ततः सेनाले दबाब दिएपछि उनले राजीनामा दिनुपरेको थियो।


















Discussion about this post