सार्थक ब्यूरो।जैविक विविधता, दुर्लभ वन्यजन्तु र विशाल घाँसेमैदानका कारण विशेष आकर्षण मानिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्याप्त प्रचार–प्रसार नहुँदा अझै पनि पर्यटकीय गन्तव्यको रूपमा ओझेलमा परेको छ ।
नेपालकै सबैभन्दा ठूलो घाँसेमैदान रहेको यस निकुञ्जमा पाटेबाघ, बाह्रसिङ्गा, दुर्लभ चराचुरुङ्गी र विभिन्न वनस्पतिहरू पाइन्छन् । तर पर्यटन प्रवर्द्धन, पूर्वाधार र जानकारीको कमीले गर्दा स्वदेशी तथा विदेशी पर्यटकको आगमन अपेक्षाकृत न्यून देखिन्छ ।
शुक्लाफाँटा निकुञ्ज कार्यालयका तथ्याङ्कअनुसार अघिल्ला वर्षहरूमा पर्यटकको संख्यामा उतारचढाव आएको छ । आर्थिक वर्ष २०७५/७६ मा १२ हजारभन्दा बढीले भ्रमण गरे पनि पछिल्ला वर्षहरूमा कोरोना महामारीपछि पर्यटक आगमन घटेको छ । हालैको तथ्याङ्कअनुसार वार्षिक झन्डै तीनदेखि चार हजार पर्यटक मात्रै निकुञ्जमा आएका छन्, जसमा विदेशी पर्यटकको संख्या निकै कम छ ।
निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार महामारीपछि बाह्य मात्र होइन आन्तरिक पर्यटक पनि घटेका छन् । “जंगल सफारीबाहेक अन्य आकर्षक गतिविधि नहुँदा, आवश्यक पूर्वाधारको कमी र नेपाल–भारत सीमामा सहज नहुनुले पर्यटक लामो समय बस्न सक्दैनन्,” उनले बताए ।
नजिकैको गड्डाचौकी नाकाबाट नेपाल आउने विदेशी पर्यटक बर्दिया वा चितवनतर्फ आकर्षित हुने गरेको अध्यागमन कार्यालयले जनाएको छ । वरिष्ठ अध्यागमन अधिकृत नवराज भट्टका अनुसार हाल विदेशी आगन्तुक बढ्दै गए पनि शुक्लाफाँटामा उनीहरू रोकिँदैनन् ।
स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार सरकारले प्राथमिकतामा नदिँदा निकुञ्जको विकास र प्रवर्द्धन हुन सकेको छैन । उनीहरूका भनाइमा, शान्त वातावरण, दुर्लभ वन्यजन्तु र जैविक विविधता भएर पनि शुक्लाफाँटा पर्यटक आकर्षित गर्न असफल हुनु यसको प्रचार–प्रसार र पूर्वाधारको कमी हो ।
निकुञ्जमा ४६१ प्रजातिका चरा, ५६ स्तनधारी, ८८ माछा, १५ उभयचर र ५६ घस्रने प्रजातिका जीव पाइने जनाइएको छ । यहाँ २,३२३ भन्दा बढी बाह्रसिङ्गाको बासस्थान पनि रहेको छ । पाटेबाघ, एकसिङ्गे गैँडा, कृष्णसार, सालक, निलगाईलगायत दुर्लभ जनावर भेटिने भएकाले यो निकुञ्ज जैविक विविधताको महत्वपूर्ण भण्डार मानिन्छ ।


















Discussion about this post