सार्थक ब्यूरो।कैलाली–कञ्चनपुर खण्डअन्तर्गत हुलाकी राजमार्गमा निर्माणाधीन ठूला पुलहरूको काम लामो समयदेखि अधुरै छाडिएको छ। बजेट अभाव र ठेकेदारको ढिलाइलाई प्रमुख कारण देखाउँदै तीन पुल र दुई कल्भर्टको निर्माण काम अलपत्र परेको हो।
हुलाकी सडक आयोजना कार्यालय, धनगढीका अनुसार उपमहानगरपालिका–१ र २ जोड्ने तथा वडा नम्बर १ र ८ जोड्ने खोलामा २५ मिटर लम्बाइका दुई पुल बनाउन २०७८ फागुनमा मालिका निर्माण सेवा प्रालिसँग ३० महिनामा सम्पन्न गर्ने शर्तमा आठ करोड २३ लाख ७३ हजारको ठेक्का सम्झौता गरिएको थियो। तर, चार वर्ष बितिसक्दा ६५ प्रतिशत मात्र काम भएको छ। सुरुमा ठेकेदारले ढिलाइ गरेको र पछिल्लो समय बजेट नहुँदा काम रोकिएको कार्यालयले जनाएको छ।
यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिकामा पर्ने डोङ्डा नदीमा पुल बनाउन २०७९ असारमा ३३ करोड ५५ लाख ३३ हजारमा ठेक्का सम्झौता भएको थियो। २०८२ पुसभित्र सम्पन्न गर्ने शर्तमा काम सुरु भए पनि हालसम्म पिलर हाल्ने काम मात्र भएको छ। सो पुलको भौतिक प्रगति ३० प्रतिशतमा सीमित रहेको छ।
यसैगरी, कञ्चनपुरकै बेलौरी–दैजी खण्डको टिसिएन खोलामा बनाइने आरसिसी बक्स कल्भर्टको ९० प्रतिशत काम सकिएको छ भने अम्खोइया खोलामा नीरज भौनेली श्रीयाज जेभीले पाएको तीन करोड २७ लाखको ठेक्कामा ७० प्रतिशत मात्र प्रगति भएको आयोजनाले जनाएको छ। तर, यी कामहरूका लागि तोकिएको म्याद असारमै सकिएको छ।
आयोजनाले जनाएअनुसार, जेनजी आन्दोलनका क्रममा कार्यालयमा रहेका केही महत्वपूर्ण कागजात जलेका कारण ठेक्का प्रक्रियामा थप जटिलता आएको छ। तिहारपछि पनि काम अघि बढ्नेमा कार्यालय विश्वस्त छैन।
















Discussion about this post