नवरात्रको अन्तिम दिन : सिद्धिदात्री देवीको विशेष पूजाआराधना

सार्थक ब्यूरो।नवरात्रको अन्तिम दिनका अवसरमा आज देशभर नवौँ दुर्गामध्येकी देवी सिद्धिदात्रीको पूजाआराधना भव्य रूपमा भइरहेको छ । आश्विन शुक्ल नवमीका दिन विगतका वर्षझैं सनातनी हिन्दु धर्मावलम्बीहरूले घर, मठमन्दिर तथा शक्तिपीठमा वैदिक विधिपूर्वक देवीको आराधना गर्ने परम्परा रहँदै आएको छ।
धर्मशास्त्रअनुसार मोक्ष प्रदान गर्ने शक्तिका कारण यस देवीलाई ‘सिद्धिदात्री’ भनिन्छ । सिद्ध, गन्धर्व, यक्ष, देवता र असुरहरूले समेत पूजा गर्ने भएकाले उहाँलाई ‘सिद्धिदायिनी’ नामले पनि चिनिन्छ । धार्मिक विश्वासअनुसार सिद्धिदात्रीको भक्तिपूर्वक आराधना गर्दा मनोकामना पूरा हुने तथा कठिनाइबाट मुक्ति पाइने जनविश्वास छ।
नवरात्र प्रारम्भ भएको असोज ६ गते घटस्थापनादेखि क्रमशः नौ दिनसम्म शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि र महागौरी देवीको पूजा सम्पन्न भइसकेको छ। आज अन्तिम दिन सिद्धिदात्री देवीलाई समर्पित विशेष पूजा हुँदैछ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राध्यापक डा. देवमणि भट्टराईका अनुसार नवरात्रभर दुर्गा सप्तशती, श्रीमद्देवीभागवतलगायतका ग्रन्थ पाठ गर्ने परम्परा छ। यसरी नौ दिनसम्म गरिएको साधना र पूजाबाट शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
यसैबीच, विजयादशमी यस वर्ष असोज १६ गते परेको समितिले जनाएको छ। बिहान ११ः५३ बजे टीका र जमरा लगाउन साइत उत्तम हुने भनिएको छ। प्राप्त प्रसाद कोजाग्रत पूर्णिमासम्म प्रयोग गर्न सकिने शास्त्रीय मान्यता छ।
महानवमीका दिन काठमाडौंसहित देशभरका प्रमुख शक्तिपीठहरूमा भक्तजनको ठूलो भीड देखिएको छ। बलिदानसहित देवीको आराधना गर्ने र घर–घरमा पूजा गर्ने परम्परा अनुरूप आज पनि नेपालीहरूले महानवमी विशेष रूपले मनाइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित