सार्थक ब्यूरो। देशका मध्य र पूर्वी भागमा मनसुन सक्रिय रहँदा सुदूरपश्चिम प्रदेशमा भने मौसम सामान्य देखिएको छ। जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयका अनुसार शनिबार दिउँसोसम्म प्रदेशका अधिकांश जिल्लामा घाम लागेको र मौसम स्थिर बन्दै गएको छ।
कार्यालयका प्रमुख सञ्जय साहका अनुसार स्थानीय वायुप्रवाहको प्रभावका कारण एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहे पनि प्रदेशभर ठूलो वर्षाको जोखिम छैन। “सुदूरपश्चिममा मौसम सामान्य अवस्थामा फर्किँदै छ,” साहले बताए।
कैलालीको चुरे–पहाडी क्षेत्रमा अवस्थित गर्भामा भने ७० मिलिमिटर वर्षाको मापन गरिएको विभागले जनाएको छ। अन्य जिल्लामा पानीको मात्रा न्यून रहेको छ।
वर्षासँगै सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि कैलाली, कञ्चनपुरसहितका जिल्लाका प्रमुख नदी तटीय क्षेत्रमा ‘गेज रिडर’हरूलाई सतर्क र सक्रिय बनाइएको कार्यालयले जनाएको छ।
विभागका अनुसार मनसुन क्रमशः कमजोर हुँदै गएपछि प्रदेशभर सामान्य मौसम रहने अनुमान गरिएको छ।








Discussion about this post