सार्थक ब्यूरो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका किसानहरू हरेक रात हात्तीको आतंकसँग जुधिरहेका छन्। खेतबारीमा लगाइएका धान, मकै र उखुजस्ता बाली हात्तीको बथानले नष्ट गर्दा किसान रातभर जाग्राम बस्न बाध्य छन्। आगो, पटाका र टिन ठटाउने पुराना उपाय अब प्रभावहीन बनेका छन्।
हात्ती भगाउने वैकल्पिक उपायका खोजीमा रहेका किसानहरू अहिले माहुरीपालनतर्फ आकर्षित भएका छन्। वन्यजन्तु विज्ञ तथा सामुदायिक वन महासंघ सुदूरपश्चिमका महासचिव पुनाराम चौधरीका अनुसार माहुरीको आवाज र उपस्थितिले हात्तीलाई डराउँछ। “माहुरी भएको ठाउँमा हात्ती आउँदैन,” चौधरीले बताए, “डाँडाजाइँस्थित कञ्चन सामुदायिक वनमा यसको प्रयोग सफल भएको थियो।”
उनका अनुसार दशकअघि त्यहाँ माहुरीका घार राखिएपछि हात्तीले त्यो बाटो प्रयोग गर्न छाडेको थियो। तर, निरन्तरता नदिँदा समस्या पुनः दोहोरिएको छ। माहुरीपालनले हात्ती भगाउने मात्र होइन, मह उत्पादनमार्फत आयआर्जनको अवसर पनि सिर्जना गर्ने भएकाले यसलाई दीर्घकालीन उपायका रूपमा विस्तार गर्नुपर्ने उनी सुझाव दिन्छन्।
नेपाल–भारत सीमावर्ती समुदायबीचको छलफलमा हात्ती रोकथामका लागि अर्को प्रयोग पनि गरिएको थियो। खुर्सानी, मोविल र तमाखुको मिश्रण दलेर जुटको डोरीलाई तारबारझै तानेपछि हात्ती त्यस बाटो हुँदै नआएको चौधरीले स्मरण गरे। मिश्रणको तीव्र गन्ध र पोल्ने असरले हात्तीलाई टाढा राख्ने देखिएको उनले बताए।
तेस्रो सम्भावित उपायका रूपमा जडीबुटी खेतीको विकल्प पनि प्रस्तुत गरिएको छ। मिन्था र क्यामामाइलजस्ता बोटहरूले हात्तीलाई टाढा राख्ने र किसानलाई राम्रो आम्दानी दिने दुवै लाभ मिल्ने बताइन्छ। तर, बजार व्यवस्थापन नहुँदा यो योजना निरन्तरता पाउन सकेको छैन।
सुनदेवी उपभोक्ता समितिका हवल्दार चौधरीका अनुसार दातृ निकायले पहिल्यै जडीबुटी प्रशोधनका मेसिन उपलब्ध गराए पनि बजार अभावका कारण किसानले खेती छाडेका छन्।
विशेषज्ञहरूका अनुसार माहुरीपालन, गन्धयुक्त डोरी र जडीबुटी खेतीजस्ता उपाय प्रभावकारी रूपमा लागू गर्न सके मानव–वन्यजन्तु द्वन्द्व घट्नेछ, किसानको बाली सुरक्षित रहनेछ र ग्रामीण आय स्रोतमा नयाँ सम्भावना खुल्नेछ।








Discussion about this post