सार्थक ब्यूरो।अविरल वर्षासँगै आएको पहिरोले इलामका विभिन्न क्षेत्रलाई ठप्प पारेको छ। जिल्लाका विभिन्न ठाउँमा पहिरोमा परेर कम्तीमा १८ जनाले ज्यान गुमाएका छन्। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार सर्वाधिक क्षति सुर्योदय नगरपालिकामा भएको छ, जहाँ पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ।
प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलका अनुसार माङसेवुङ गाउँपालिका–१ पाटीगाउँमा तीन, देउमाई नगरपालिका–५ धारेमा एक र सोही वडाको धुसुनीमा दुई जनाको मृत्यु भएको छ। फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा एक र इलाम नगरपालिका–५ घोसगाउँमा छ जनाको मृत्यु भएको छ।
यससँगै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उदयपुरमा एक र खोटाङमा एक जनाको मृत्यु भएको पुष्टि गरेका छन्। लगातारको वर्षाले कोशी प्रदेशका धेरै क्षेत्र जलमग्न बनेका छन्।
विपद् व्यवस्थापन निकायका अनुसार अझै केही दिन वर्षा जारी रहने अनुमान भएकाले पहिरो, बाढी र डुबानको जोखिम थप बढ्ने देखिएको छ। स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य तीव्र पारेको बताइएको छ। पहिरोका कारण सडक र संचार अवरुद्ध हुँदा उद्धारमा कठिनाइ आइरहेको जनाइएको छ।








Discussion about this post