सार्थक ब्यूरो। निर्वाचन आयोगले फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन सञ्चालन गर्ने कार्यक्रम स्वीकृत गरेको छ। सोमबार बसेको आयोगको बैठकले निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया र समयसारिणीलाई औपचारिक मान्यता दिएको हो।
स्वीकृत तालिका अनुसार, मंसिर १ देखि १० गतेसम्म राजनीतिक दल दर्ता प्रक्रिया सञ्चालन हुनेछ। समानुपातिक प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ भने पुस १८ र १९ गते बन्दसूची पेश गरिने व्यवस्था गरिएको छ।
पहिलो मतदाता प्रणाली अन्तर्गत माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र फागुन ३ देखि १८ गतेसम्म प्रचारप्रसार अवधि रहनेछ। यसपछि प्रचार निषेध लागू हुनेछ।
निर्वाचन आयोगले फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गरिने र मतपेटिका संकलनपछि दुवै प्रणालीतर्फ मतगणना सुरु हुने जानकारी दिएको छ। आयोगले निर्वाचन प्रक्रिया सहज र निष्पक्ष बनाउन राजनीतिक दल तथा सरोकारवालासँग निरन्तर परामर्श र सहकार्य गर्ने पनि जनाएको छ।
त्यसैगरी, निर्वाचनमा भाग लिन इच्छुक दलहरूले कात्तिक ३० अगावै आयोगबाट दल दर्ताको प्रमाणपत्र लिनुपर्ने सूचना जारी गरिएको छ।


















Discussion about this post