सिंहदरबार जल्यो, दमकल सुतिरह्यो

सार्थक डेस्क।सिंहदरबार नेपालको राजनीतिक तथा प्रशासनिक शक्ति केन्द्र। यहीँबाट मुलुकको शासन सञ्चालन हुन्छ, यहीँबाट राष्ट्रका नीतिहरू तय हुन्छन्। तर भदौ २४ गते, यही सिंहदरबार आगोले डढ्दा, देशले एउटा गम्भीर सत्य देख्यो—हाम्रा संरचना बलिया छन्, तर जिम्मेवारी कमजोर छ।
आन्दोलनका नाममा मुलुकका संवैधानिक र ऐतिहासिक धरोहरमा एकसाथ आगो लगाइयो। राष्ट्रपति कार्यालयदेखि संसद् भवन, सर्वोच्च अदालतदेखि अख्तियारसम्म, सबैतिर विनाशको दृश्य देखियो। तर सबैभन्दा ठूलो प्रश्न के हो भने—सिंहदरबार भित्रै दमकल हुँदा पनि किन चल्न सकेन?
नेपाली सेनाको नरसिंह गणमा रहेको दमकल त्यस दिन निष्क्रिय रह्यो। कारण सुन्दा अचम्म लाग्छ—‘मान्छे सुतेका कारण चलाउन सकिएन’। यस्तो हँस्यास्पद जवाफले राज्य संयन्त्रको लापरबाही र कमजोरी दुवै उजागर गर्छ। सिंहदरबारभित्र सेना तैनाथ, दमकल तयार, तर आगो निभाउने मान्छे छैन? यस्तो शासन प्रणालीमा जनता कसरी सुरक्षित महसुस गर्न सक्छन्?
दमकल ललितपुर र सेनाको मुख्यालयबाट आइपुग्दा सिंहदरबार आधा जलिसकेको थियो। दस्तावेजहरू खरानी भइसकेका थिए, इतिहासका पाना धुवाँ बनेर उडेका थिए। यसबीच राजधानीका अन्य दमकलहरू चालक नपाएको बहाना बनाएर ‘आराम’ गरिरहेका थिए। जिम्मेवारीबाट भाग्ने यो संस्कृतिले आज हाम्रो राज्य संयन्त्रको चरित्र नै चित्रित गरिदिएको छ।
यो केवल आगलागीको कथा होइन, यो शासन प्रणालीको असफलताको प्रतीक हो। देशको मुटु जल्दा पनि राज्यको नशामा संवेदना बगेन। जब सुरक्षा निकाय, प्रशासन र नेतृत्व सबै एकसाथ मौन बस्छन्, त्यसको अर्थ जिम्मेवारी मरिसकेको हुन्छ।
आन्दोलनका नाममा सार्वजनिक सम्पत्ति जलाउनेहरू कानूनी दृष्टिले अपराधी हुन्। तर त्यति नै ठूलो अपराध हो—राज्य संयन्त्रको निस्क्रियता, जसले हेरेर बस्यो, जब राष्ट्रको गौरव ध्वस्त हुँदै थियो। सिंहदरबार जल्दा सुत्नेहरूलाई जगाउने जिम्मा कसको हो ? जब दमकल सुत्छ र देश जल्छ, त्यसबेला नारा होइन, जवाफ चाहिन्छ।
नेपाल अब ‘दुर्भाग्य’ होइन, उत्तरदायित्वको राजनीति खोज्दै छ। सिंहदरबारको खरानीले यो सन्देश दिएको छ,जिम्मेवारी नबुझ्ने शासन, आखिर आफू नै खरानी हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित