सुदूरपश्चिममा सवारी दुर्घटना : एक जनाको मृत्यु, सात घाइते

सार्थक व्युरो ।सुदूरपश्चिमका दुई जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
बैतडीको मेलौली नगरपालिका–८ को कोटीगाउँस्थित कच्ची सडकमा बिहीबार राति करिब साढे १० बजे ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका हुन्। मर्छलेबाट बगौरातर्फ जाँदै गरेको लु ५ त १५३९ नम्बरको ट्याक्टर सडक छेउमा पल्टिँदा ट्रालीमा सवार यात्रुहरू घाइते भएका प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार घाइते हुनेहरूमा पदम ठगुन्ना, धनबहादुर बिष्ट, बलराम ठगुन्ना, सुवास ठगुन्ना, आकाश दमाइ, पशुपति दमाइ र अनिल ठगुन्ना रहेका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर भएकाले उनलाई थप उपचारका लागि धनगढी पठाइएको छ भने अन्यको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। घटनापछि ट्याक्टर चालक सुरेश ठगुन्नालाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, कञ्चनपुरमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। शुक्रबार स्याउले बजार क्षेत्रमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको सुपप्र ०२००१ ख ०५९८ नम्बरको टिप्परले सोही दिशामा गुडिरहेको युके ९६ एयस ७९३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पछाडि सवार दोधारा चाँदनी नगरपालिका–१ का विवश चुनाराको घटनास्थलमै ज्यान गएको हो।
दुर्घटनामा मोटरसाइकल चालक नरेश लुहार घाइते भएका छन्। उनको भारतको खटिमास्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि टिप्पर चालक फरार रहेका छन् भने फरार चालक बेदकोट नगरपालिका–५ धर्मपुरका जितबहादुर चौधरीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित