सार्थक ब्यूरो। शुक्लाफाँटा नगरपालिका–८ फुलेलीस्थित वैजनाथ सामुदायिक वन क्षेत्रमा पछिल्ला महिनाहरूमा वन्यजन्तु चोरी–शिकारीका घटना तीव्र बन्दै गएका छन् ।
सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बहादुरसिंह महराका अनुसार राजनीतिक अस्थिरताको मौका लिएर केही व्यक्तिहरूले घरेलु हतियार, भरुवा बन्दुक र कुकुर प्रयोग गरी वन्यजन्तु सिकार गर्दै आएका छन् । साथै उनीहरूले वन सिमानामा रहेका तारबार तोड्ने, बिना अनुमति घाँस–दाउरा तथा डालेघाँस सङ्कलन गर्ने, र सामुदायिक वनलाई अनधिकृत चरिचरन क्षेत्रका रूपमा प्रयोग गर्ने क्रम रोकिएको छैन ।
महराले बताएअनुसार, नदीमा विषादी र करेन्ट प्रयोग गरी माछा मार्ने कार्यले जलचर र वन्यजन्तु दुबैको जीवनमा गम्भीर असर परेको छ । उनका शब्दमा, “वनभित्र जडान गरिएका सिसिटिभी क्यामेरा र सौर्य बत्तीहरू समेत तोडफोड गरिएको छ, जसले निगरानी कार्य कठिन बनाएको छ ।”
उनका अनुसार राति र दिउँसो सवारीसाधन वन क्षेत्रभित्र प्रवेश गरी चोरी–शिकारी, अवैध बालुवा तथा रातो माटो उत्खनन गर्ने कार्य पनि भइरहेको छ ।
समूहका पदाधिकारीहरूले स्थानीय प्रशासन, डिभिजन वन कार्यालय र सुरक्ष निकायलाई चोरी–शिकारी नियन्त्रणमा सक्रिय हुन आग्रह गरेका छन् । साथै, गैरकानुनी गतिविधि रोक्न सार्वजनिक सूचना जारी गर्दै वन ऐन २०७६ र समूहको विधानअनुसार कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।








Discussion about this post