तिहारका लागि उपत्यकाबाट करिब छ लाख नागरिक बाहिरिने अनुमान

सार्थक ब्यूरो। तिहार पर्व सुरु भएसँगै उपत्यका बाहिरिने यात्रुको चाप तीव्र भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार यो वर्ष करिब छ लाख मानिसले तिहार मनाउन गृह जिल्ला जाने अनुमान गरिएको छ।
महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार यसपालिको तिहारमा बिदा लामो भएकाले यात्रु संख्या विगतका वर्षहरूभन्दा उल्लेख्य रूपमा बढ्ने देखिएको हो। “दसैँका बेला भारी वर्षाका कारण धेरै यात्रुले कठिनाइ बेहोरेका थिए, तर अहिले सडक अवस्था धेरै सुधारिएको छ,” स्वाँरले बताए। उनका अनुसार यात्रु सहज रूपमा गन्तव्य पुग्न सक्ने वातावरण बनाइएको छ।
सडक विभागका सूचना अधिकारी शुभाञ्जन दाहालले देशभरका मुख्य राजमार्गहरू अहिले सुचारु अवस्थामा रहेको जानकारी दिए। “पहिलेका बाढीपहिरोका कारण अवरुद्ध रहेका धेरै सडक मर्मत भइसकेका छन्। माईखोला खण्ड पनि सञ्चालनमा आइसकेको छ,” उनले भने, “यदि सुक्खा पहिरो वा अन्य कारणले बाटो अबरुद्ध भएमा तत्काल सञ्चालनका लागि टोली तयारी अवस्थामा छ।”
तिहारका लागि गाउँ फर्किने यात्रुहरूका कारण अहिले नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बल्खु र गौशालासहितका यातायात केन्द्रहरूमा भीड बढ्दै गएको छ। लामो दूरीका टिकटहरू पहिले नै बुकिङ हुने क्रम तीव्र छ।
यातायात व्यवसायीहरूले यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै थप सवारी साधन परिचालन र अनुगमनमा कडाइ गरिएको बताएका छन्।
तिहारको उल्लाससँगै उपत्यका केही दिनका लागि सुनसान बन्ने देखिएको छ, भने ग्रामीण भेगका घरआँगनहरू आफ्ना प्रियजनहरूको आगमनले फेरि रौनक भरिने तयारीमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित