तेल अवीभ — इजरायलमा आयोजित श्रद्धाञ्जली सभामा आइतबार नेपाली समुदाय शोकमा डुब्यो। कञ्चनपुरका २२ वर्षीय विपिन जोशीको पार्थिव शरीर नेपाल पठाउनुअघि बेनगुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायली र नेपाली नागरिकहरू एकसाथ उभिए — मौन, पीडामा र कृतज्ञतासहित।
विद्रोही समूह हमासद्वारा अपहरणपछि ज्यान गुमाएका विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न आयोजित समारोहले हरेक सहभागीको मन छोयो। कफिनमा नेपाली राष्ट्रिय झण्डा ओढिएको थियो, जसअगाडि उपस्थित सबैले पुष्पगुच्छा अर्पण गर्दै विपिनप्रति अन्तिम सम्मान जनाए।
श्रद्धाञ्जलीका क्षणहरू अत्यन्त भावनात्मक बने। इजरायलमा रहेका नेपाली कामदारहरू, विद्यार्थीहरू र समुदायका प्रतिनिधिहरू एकै स्वरमा भने— “विपिन केवल एक युवक थिएनन्, उनी हजारौँ नेपाली युवाको सपना थिए।”
इजरायली प्रशासनका अधिकारीहरू समेत उपस्थित रहेको समारोहमा मानवीय संवेदनाको वातावरण छाएको थियो। नेपालीहरूको शान्त अनुहारमुनि गहिरो पीडा झल्किन्थ्यो — परदेशमा सपनाको खोजी गर्दै ज्यान गुमाएका आफ्ना युवकप्रति।
विपिन अध्ययन र काम दुवै सँगै अघि बढाउने उद्देश्यसहित इजरायल पुगेका थिए। तर २०२३ अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा उनी किबुत्ज क्षेत्रबाट अपहरणमा परे। लामो अनिश्चिततापछि असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए।
हमास र इजरायलबीचको युद्धविरामपछि भएको बन्दी साटासाट क्रममा विपिनको शव इजरायली पक्षले फिर्ता गरेको थियो। डीएनए र फरेन्सिक परीक्षणपछि शव विपिनकै भएको पुष्टि भयो — जसले नेपाली समुदायमा आशाको सबै ढोका बन्द गर्यो।
उनको शव सोमबार फ्लाई दुबईको विमानमार्फत काठमाडौं ल्याइनेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले उनलाई राष्ट्रिय सम्मानका साथ अन्तिम बिदाइ दिने तयारी भइरहेको छ।
तेल अवीभको आकाशमुनि उभिएका नेपालीहरूको मौन श्रद्धाञ्जली केवल विपिनका लागि होइन, आफ्नै घर–परिवारदेखि टाढा जोखिमसहित विदेशमा श्रम बेचिरहेका हजारौँ युवाहरूको पीडा र बलिदानको प्रतीक बन्यो।विपिन फर्किंदै छन् — तर अब सपना बोकेर होइन, श्रद्धा र शोकको आवरणमा।


















Discussion about this post