सार्थक ब्यूरो। तिहारको पाँचौँ दिन, कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको अन्तिम दिन आज गाईपूजा गरी मनाइँदैछ । यस दिन घर–घरमा गाईलाई पवित्र मान्दै पूजाआजा गर्ने, फूलमाला र मीठा परिकार चढाउने परम्परा रहँदै आएको छ ।
वैदिक सनातन परम्पराअनुसार गाईलाई समृद्धि, पवित्रता र मातृत्वको प्रतीकका रूपमा मानिन्छ । दूध, गोबर र गहुँत जस्ता उपयोगी पदार्थ प्रदान गर्ने भएकाले गाईलाई ‘गौमाता’ का रूपमा सम्मान गरिन्छ । धर्मशास्त्रविद्हरूका अनुसार गाईले दिने दूध आमाको दूधजत्तिकै पौष्टिक हुने भएकाले गाई मानव जीवनका लागि अत्यन्त उपयोगी प्राणी हो भन्ने धारणा रहिआएको छ ।
धर्मशास्त्रविद् प्रा. तोयराज नेपापका अनुसार केही स्थानमा कार्तिक कृष्ण औँसीमै गाईपूजा गर्ने चलन भए पनि शास्त्रीय दृष्टिले औँसीको अन्त्य र प्रतिपदाको प्रारम्भमा गाईपूजा गर्नुपर्ने उल्लेख पाइन्छ ।
गाईको पूजा गरी मीठा परिकार खान दिएमा गाईबाट प्राप्त हुने पवित्रता र शुभता सधैं कायम रहने धार्मिक विश्वास छ । हिन्दू धर्ममा गाईदानलाई पनि अत्यन्त पुण्य मानिन्छ । गाई उपलब्ध नहुने अवस्थामा प्रतीकस्वरूप पैसा राखी ‘गाईको अभावमा’ भनेर सङ्कल्प गर्ने चलन पनि छ ।
गाईलाई नेपालमा राष्ट्रिय जनावरको रूपमा मान्यता दिइएको छ । धार्मिक परम्परा अनुसार आजको दिन गाईपूजा गरेपछि साउन शुक्ल पूर्णिमाका दिन बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिँदा मृत्युपश्चात् गाईले वैतरणी नदी पार गराइ स्वर्ग पुग्ने विश्वास पनि रहेको छ ।


















Discussion about this post