आज देशभर भाइटीका पर्व उल्लासपूर्वक मनाइँदै

सार्थक ब्यूरो। तिहार अर्थात् यमपञ्चकको मुख्य दिन भाइटीका आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ । कार्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिएर यो पर्व मनाइन्छ
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष तिथि वृद्धि भएकाले भाइटीका तिहारको छैटौँ दिन परेको हो । सामान्यतया पाँच दिन मनाइने तिहार यसपटक छैटौँ दिनसम्म पुगेको समितिले जनाएको छ । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।
धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि प्रत्युत्तरस्वरूप दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने परम्परा छ । यसरी टीका गर्दा दाजुभाइको दीर्घायु र दिदीबहिनीको अखण्ड सौभाग्यको कामना गरिन्छ ।
समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले आज टीका लगाउने शुभ साइत बिहान ११ः३९ बजे रहेको बताए । साथै, यस वर्ष दिदीबहिनी पूर्वतर्फ र दाजुभाइ पश्चिम फर्की टीका गर्नुपर्ने भनिएको छ, जसले चन्द्रमालाई सम्मुख राख्ने शुभ मान्यता पूरा गर्छ ।
भाइटीकाको विधिमा दियो, कलश, गणेशसहित अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र अन्य देवताहरूको पूजा गरी दिदीबहिनीले दाजुभाइको आरोग्य र ऐश्वर्यको कामना गर्छन् । सप्तरङ्गी टीका प्रचलित भए पनि वैदिक मान्यताअनुसार रातो, सेतो, पहेँलो, हरियो र निलो गरी पाँच रंगको टीका पवित्र मानिन्छ ।
टीका लगाइसकेपछि दिदीबहिनीले ओखर, सेलरोटी, मसला आदि खुवाउने र दाजुभाइले गच्छेअनुसार कपडा वा दक्षिणा दिएर सम्मान प्रकट गर्ने परम्परा छ ।
दिदीबहिनी नहुनेका लागि बालगोपालेश्वर मन्दिर खुला
दिदीबहिनी वा दाजुभाइ नहुनेका लागि आज काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ । वर्षमा एकपटक भाइटीकाको दिन मात्र खुल्ने यो मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नभएकाहरूले टीका लगाएर भाइटीका मनाउने गर्छन् ।
त्यसैगरी जयबागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज भक्तजनको भीड लाग्ने गर्छ । विसं २०३५ अघि रानीपोखरीमा भीड व्यवस्थापन समस्या भएपछि केही समय यो प्रथा खञ्जनेश्वरमा स्थानान्तरण गरिएको थियो ।
भक्तपुरमा भने नेवार समुदायले भाइटीकालाई किजापूजाका रूपमा मनाउँछन् । भक्तपुर नगरपालिका अनुसार केही समुदायले बुधबार नै परम्पराअनुसार किजापूजा सम्पन्न गरेका छन् ।
देशभर दिदीबहिनी र दाजुभाइबीचको स्नेह, आस्था र पारिवारिक सुमधुर सम्बन्धको प्रतीकका रूपमा भाइटीका उल्लासपूर्वक मनाइँदैछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित