बैतडीमा खलो प्रथाको असर, परम्परागत आरन बन्द हुँदै

सार्थक ब्यूरो । खलो प्रथाले सुदूरपश्चिमको बैतडी जिल्लामा परम्परागत आरन पेसा लोप हुने संकटमा परेको छ । वर्षदिनभर फलाम पिटेर कृषि औजार बनाउने आरनकर्मीले खलोका रूपमा पाउने एक पाथी मकै वा गहुँले जीवन गुजारा नचल्दा धेरै शिल्पकारले आफ्नो पेसा त्यागेका छन् । कोही भारतमा ज्याला मजदुरीका लागि पलायन भएका छन् भने कोहीले आरनको सट्टा अन्य काम रोजेका छन् ।
आरन पेसासँगै गाउँको खेतीपातीको उत्पादन पनि घट्दै गएको छ । युवाहरू रोजगारीका खोजीमा बाहिरिने क्रम बढेसँगै गाउँका धेरैजसो जमिन बाँझो बन्न थालेका छन् । सुर्नया गाउँपालिका–६ का आरनकर्मी वीरेन्द्र लुहार अब आरन छोडी सिमेन्टका मूर्तिहरू बनाउन थालेका छन् ।
सिगास गाउँपालिका–१ का वडाध्यक्ष रमचन्द्र ऐरीका अनुसार पछिल्ला १० वर्षमा गाउँका अधिकांश आरन बन्द भएका छन् । स्थानीय तहले आरन सुधारका लागि केही आर्थिक सहयोग गरे पनि नयाँ पुस्ता यो परम्परागत पेसामा टिक्न नसकेको उनको भनाइ छ । सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शङ्करदत्त जोशीका अनुसार प्रदेश सरकारले आरन सुधारका लागि २० हजार रुपैयाँका दरले सहयोग गर्दै आएको छ र चालु आर्थिक वर्षमा २५ जना आरनकर्मीलाई सहयोग गर्ने योजना बनाइएको छ ।
तर यस्ता साना सहयोगले मात्र पेसा जोगिन नसक्ने दलित अगुवा नेता राजुराम भुलको भनाइ छ । उनका अनुसार आरन पेसा संकटमा पर्नुको कारण खलो प्रथा, जातीय विभेद, आर्थिक असमानता र शिक्षा–स्वास्थ्यमा सीमित पहुँच हो । उनले भने, “आरनको काम गरेर वर्षदिन खान पुग्दैन । भारतमा गएर दुःख गरे पनि दुई लाख रुपैयाँसम्म कमाइ हुन्छ । स्थानीय सरकारको जिम्मेवारी आरन पेसा जोगाउन सानो अनुदान होइन, ज्याला निर्धारण, बिमा, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गर्नेतर्फ हुनुपर्छ ।”
बैतडीमा करिब ५५ हजार दलित जनसङ्ख्या रहेको अनुमान छ । तीमध्ये करिब ३० हजार जनामा आरनको सिप भएका विश्वकर्मा समुदायका सदस्यहरू छन् । तर पछिल्लो समय यो पेसाबाट हात झिक्नेहरूको संख्या तीव्र गतिमा बढ्दै गएको सामाजिक अभियन्ता कर्ण दयाल सोराडीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित