सार्थक ब्यूरो । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कात्तिक २० गते राजधानीमा ठूलो प्रदर्शन र आमसभा आयोजना गर्ने तयारी गरेको छ। जेन–जी आन्दोलनपछिको राजनीतिक परिस्थितिबारे आफ्ना धारणा सार्वजनिक गर्ने उद्देश्यले यो सभा गर्न लागिएको पार्टीले जनाएको छ।
पार्टी महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सोमबार बिहान सामाजिक सञ्जालमार्फत “स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौंमा भेटौँ साथीहरू” भन्दै कार्यकर्ता र समर्थकलाई सहभागी हुन आह्वान गरेका छन्। उक्त सभामा महासचिव विप्लव स्वयंले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी स्रोतले जनाएको छ।
नेकपाले सभाअघि र्याली पनि निकाल्ने तयारी गरेको छ। “काठमाडौं उपत्यका र वरपरका जिल्लाबाट करिब १० देखि १५ हजार कार्यकर्ता सहभागी हुने अनुमान गरिएको छ,” नेकपाका नेता भरत बमले जानकारी दिए।
सभा गर्ने स्थान भने अहिलेसम्म टुंगो लागेको छैन। “पहिलो प्राथमिकता खुलामञ्चको हो, तर त्यहाँ अनुमति नपाए अन्य विकल्पहरू—भृकुटीमण्डप, बसन्तपुर, रत्नपार्क वा टुँडिखेलमध्ये कुनै स्थानमा सभा गर्ने योजना छ,” बमले भने।
यसअघि दुर्गा प्रसाई नेतृत्वको समूहलाई काठमाडौंमा प्रदर्शन गर्न गृह मन्त्रालयले अनुमति नदिएको थियो। तर विप्लव समूहको आगामी सभाबारे भने मन्त्रालयले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन।


















Discussion about this post