सार्थक ब्यूरो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज (आइतबार) देखि कञ्चनपुरका किसानबाट धान खरिद सुरु गरेको छ। कम्पनीले सरकारले तोकेको समर्थन मूल्यअनुसार धान खरिद गर्ने जनाएको छ।
कम्पनीका शाखा प्रमुख महिकरण महराका अनुसार यस वर्ष पहिलो चरणमा पाँच हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखिएको छ। “आवश्यकता अनुसार पछि थप खरिद पनि गर्न सकिन्छ,” उनले भने।
गत वर्ष कम्पनीले १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखे पनि केवल दुई हजार ९५१ क्विन्टल मात्रै खरिद गर्न सक्यो। आर्थिक वर्ष २०८०/८१ मा पनि १४ हजार क्विन्टल खरिद गर्ने लक्ष्यमा मात्र तीन हजार क्विन्टल खरिद भएको थियो। यसअघि लक्ष्य पूरा गर्न नसकिएको अनुभवका कारण यस वर्ष कम्पनीले खरिद लक्ष्य घटाएको हो।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मोटा धानको मूल्य प्रतिक्विन्टल ३,४६३ रुपैयाँ तोकेको छ। कञ्चनपुरमा हाल ४८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ र यहाँ धानको उत्पादकत्व प्रतिहेक्टर करिब चार मेट्रिक टन रहेको तथ्याङ्क छ।
कृषकहरूले सरकारले तोकेको मूल्यअनुसार धान बिक्री गर्न पाउने भएकाले यस वर्ष खरिद प्रक्रिया सहज रहने अपेक्षा गरिएको छ।


















Discussion about this post