सार्थक ब्यूरो । नेकपा (एमाले)ले पार्टीको एघारौँ महाधिवेशनका तयारीलाई तीव्रता दिँदै प्रतिनिधि चयनदेखि सहभागी शुल्कसम्मका निर्णय गरेको छ। हिजो बसेको सचिवालय बैठकले आयोजक प्रतिनिधिका लागि तीन हजार र निर्वाचित प्रतिनिधिका लागि दुई हजार रुपैयाँ शुल्क तोकेको पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिएका छन्।
मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा जनसभासहित हुने महाधिवेशनमा करिब दुई हजार एक सय प्रतिनिधि सहभागी हुने तयारी गरिएको छ। देशभरका सबै संगठन इकाईहरूबाट मंसिर १३ गतेसम्म प्रतिनिधि चयन गरिने र ती प्रतिनिधिहरूको नाम मंसिर १५ गतेभित्र केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने व्यवस्था मिलाइएको छ।
प्रतिनिधि चयनका लागि हजार दुई सय सदस्यबाट चार जना प्रतिनिधि रहनेछन् — जसमा एक महिला, एक ४० वर्षमुनिका युवा र दुई खुला सिटका प्रतिनिधि हुनेछन्। प्रत्येक थप आठ सय सदस्यमा एक प्रतिनिधि थपिनेछ, जसमा पहिलो र चौथो प्रतिनिधि महिला हुने व्यवस्था गरिएको छ।
एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा निर्वाचन क्षेत्र नै इकाई मानिनेछ भने एक मात्र क्षेत्र भएका जिल्ला वा गैरभौगोलिक जिल्लामा जिल्ला नै प्रतिनिधि इकाई हुनेछ। दलित समुदायका लागि विशेष निर्वाचन इकाई तोकिएको छ, जसअन्तर्गत प्रत्येक पाँच सय दलित सदस्यबाट एक जना प्रतिनिधि रहनेछन्।
ट्रेड युनियनका तर्फबाट प्रत्येक प्रदेशबाट दुई महिला सहित सात जना, केन्द्रीय सल्लाहकार परिषद्बाट २५ जना, प्रदेश कमिटी र जनसंगठनहरूबाट पनि पाँचदेखि सात प्रतिनिधि चयन गरिनेछ। प्रवासमा रहेका भारत प्रवास र महादेश कमिटीबाट दुई महिला सहित पाँच जना प्रतिनिधि रहनेछन्।
त्यस्तै, विभाग र केन्द्रीय कार्यालयबाट एक–एक प्रतिनिधि रहने व्यवस्था छ। केन्द्रीय कमिटी र आयोगका पदाधिकारी तथा सदस्यहरू आयोजक प्रतिनिधिका रूपमा सहभागी हुनेछन् भने मनोनीत प्रतिनिधि कुल संख्याको पाँच प्रतिशतभित्र सीमित हुनेछन्।
एमालेले महाधिवेशनलाई पार्टी पुनर्गठन र आगामी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।


















Discussion about this post