प्रधानमन्त्री र मुख्यमन्त्रीबीच निर्वाचन तयारीका विषयमा समन्वयात्मक छलफल

सार्थक ब्यूरो ।आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै प्रधानमन्त्री सुशीला कार्कीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग समन्वयात्मक छलफल गरेकी छन्। बालुवाटारस्थित प्रधानमन्त्रीको आधिकारिक निवासमा भएको उक्त बैठकमा निर्वाचन तयारी, सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणका विषयमा गम्भीर रूपले चर्चा भएको सरकारका प्रवक्ता तथा सञ्चार–सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
मन्त्री खरेलका अनुसार बैठकमा मुख्यमन्त्रीहरूले प्रदेशस्तरको शान्ति–सुरक्षा, प्रशासनिक तयारी र कानुनी तथा वित्तीय जटिलताबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। आगामी फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउन संघीय र प्रदेश सरकारबीच घनिष्ट समन्वय आवश्यक रहेको सहमति बैठकबाट बनेको उनले बताए।
मन्त्री खरेलका शब्दमा, “बैठक सकारात्मक र उपलब्धीमूलक रह्यो। सबै तहका सरकार मिलेर निर्वाचन सुचारु रूपले सम्पन्न गर्नका लागि आ–आफ्नो भूमिका प्रभावकारी बनाउन सहमति भएको छ।” उनका अनुसार मुख्यमन्त्रीहरूले नीति, नियम र बजेट कार्यान्वयनका क्रममा देखिएका अवरोधबारे पनि प्रधानमन्त्रीलाई सुझाव दिएका थिए, जसमा प्रधानमन्त्री कार्की सकारात्मक देखिएकी थिइन्।
मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनारले संघीयताको मर्मअनुसार समन्वयमा कमी देखिएको भन्दै चिन्ता व्यक्त गरे। उनले निर्वाचनको वातावरण निर्माण गर्न सरकारले सुरक्षाको प्रत्याभूति र सुरक्षा निकायको मनोबल वृद्धिमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए।
त्यस्तै, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रधानमन्त्री कार्की संघीयता सुदृढीकरण र निर्वाचन तयारीप्रति प्रतिबद्ध रहेको उल्लेख गरे। उनका अनुसार, संघीय र प्रदेश सरकारबीचको सहकार्यमार्फत निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सकिने विश्वास बैठकले व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित