सार्थक ब्यूरो ।दार्चुलाका गाउँघरमा कहिल्यै नअभाव हुने डोको, डालो, मट्टो, सुपा जस्ता निगालोका सामग्री अहिले दुर्लभ बन्दै गएका छन्। समयको गतिसँगै आधुनिक विकल्पको विस्तार र प्राकृतिक स्रोतको कमीले गर्दा स्थानीय सिप र परम्परा हराउँदै गएको देखिन्छ।
पहिले वनजङ्गलमा प्रशस्त पाइने निगालो अहिले न्यून मात्रामा मात्र भेटिन्छ। निगालोका सामग्री उत्पादनमा लाग्ने श्रम बढी र बजार अभावका कारण व्यवसायिक रूपमा यसको उत्पादन घट्दै गएको स्थानीय व्यवसायीहरूको भनाइ छ। कृषि बजार खरिद तथा बिक्री केन्द्र दार्चुलाका सञ्चालक दिलेन्द्रराज भट्टका अनुसार, “पहिले गाउँघरका हरेक काममा निगालोका सामग्री अपरिहार्य थिए, तर अहिले प्लास्टिकका सामानले सबै ठाउँ ओगटेका छन्।”
भट्टका भनाइमा, निगालोका भाँडाकुँडा स्वास्थ्यका दृष्टिले सुरक्षित र वातावरणमैत्री भए पनि सस्तो र सजिलो प्लास्टिकले बजार कब्जा गरेको छ। उत्पादनमा समय र दक्षता चाहिने, बजारमा प्रतिस्पर्धा गर्न नसक्ने र जङ्गलमा निगालोको कमीका कारण यो परम्परागत पेशा नै हराउँदै गएको हो।
महाकाली नगरपालिका–३ का केशवदत्त भट्टका अनुसार, “सडक र बजारको पहुँच नहुँदा निगालोका सामग्रीको बिक्री घट्दै गएको छ। नयाँ पुस्ता यो पेसामा आकर्षित नहुँदा सिपसमेत हराउँदै गएको छ।”
हाल खलङ्गा बजारमा निगालोका केही वस्तु पाइए पनि उपभोक्ताको चासो घटेको छ। मेला–पर्वमा मात्रै परम्परागत रूपमा यस्ता सामग्रीको माग हुने गरेको छ।
विशेषज्ञहरूका अनुसार, निगालोका उत्पादनले वातावरण संरक्षणका साथै स्थानीय अर्थतन्त्रमा योगदान दिन सक्ने सम्भावना अझै छ। तर त्यसका लागि निगालो खेती प्रवर्द्धन, उत्पादनमा नयाँ प्रविधि र बजार सुनिश्चितता आवश्यक देखिन्छ।
स्थानीयहरूले भने, “यदि अहिले संरक्षणमा ध्यान नदिइयो भने निगालोका सामग्री र सँगै हाम्रो परम्परागत सिप पनि पुस्तैपुस्ता हराउने खतरा छ,” भन्दै चिन्ता व्यक्त गरेका छन्।


















Discussion about this post