सार्थक ब्यूरो ।सुदूरपश्चिम प्रदेशका प्रमुख राजनीतिक दलहरूले सांसद र मन्त्रीहरूका स्वकीय सचिव कटौती नगर्ने सहमति गरेका छन्। मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बुधबार बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो।
बैठकमा सहभागी एक नेताका अनुसार खर्च घटाउने संघीय निर्देशनपछि उत्पन्न असन्तुष्टिलाई सम्बोधन गर्दै प्रदेशस्तरमा स्वकीय सचिवको व्यवस्था यथावत राख्ने निर्णय गरिएको हो। मंगलबार अर्थ मन्त्रालयले प्रदेशका सबै काम प्रदेश र संघीय कानुनअनुसार गर्नुपर्ने भनाइसहित पत्र पठाएपछि सुदूरपश्चिममा सर्वदलीय छलफल गरी यस्तो निष्कर्षमा पुगेको हो।
सभामुख भीमबहादुर भण्डारीले प्रदेश सरकार र सभाको गतिविधि प्रदेश कानुनअनुसार नै सञ्चालन हुने स्पष्ट पार्दै भने, “प्रदेशका कार्यहरू प्रदेशको कानुनी व्यवस्थाअनुसार अघि बढ्ने कुरा सर्वदलीय सहमतिबाट पुनः पुष्टि भएको छ।”
बैठकमा मुख्यमन्त्री शाह, सभामुख भण्डारी, एमाले नेता राजेन्द्रसिंह रावल, माओवादी केन्द्रका अक्कलबहादुर रावल, नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी, कांग्रेस प्रमुख सचेतक बिक्रमसिंह धामी, राप्रपा सांसद खिमादेवी बिष्ट र कांग्रेस सांसद पदमबहादुर शाही सहभागी थिए।
साथै, सर्वदलीय बैठकले आगजनीका कारण स्थगित प्रदेशसभा बैठक चाँडै सञ्चालन गर्ने निर्णय गरेको छ। हाल क्षतिग्रस्त भवनको मर्मत कार्य जारी रहेको र बढीमा दुई साताभित्र बैठक सञ्चालन हुने तयारी भइरहेको सभामुख भण्डारीले जानकारी दिए।
बैठकले प्रदेशका कार्यालयहरूमा पूर्ववत् रूपमा सुरक्षा व्यवस्था कायम राख्न सुरक्षा निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ।


















Discussion about this post