कञ्चनपुरमा मतदाता नामावलीमा १,७६५ नयाँ नाम थप

सार्थक ब्यूरो ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका तयारीसँगै कञ्चनपुरमा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य तीव्र गतिमा भइरहेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म १,७६५ जनाले नयाँ नाम दर्ता गराइसकेका छन्।
निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराका अनुसार कात्तिक महिनाको पहिलो सातादेखि मतदाता नाम दर्तामा उल्लेखनीय वृद्धि देखिएको हो। दसैं–तिहार र छठ जस्ता पर्वका कारण केही समय काम प्रभावित भए पनि अहिले दैनिक ८० देखि १२० जनाले नाम दर्ता गराइरहेको उनले बताए।
अहिले दर्ता अभियानमा युवाको उत्साहजनक सहभागिता देखिएको कार्यालयले जनाएको छ। महराका अनुसार हाल दर्ता हुनेमध्ये करिब ७० प्रतिशत नयाँ मतदाता युवा पुस्ताका रहेका छन्। उनले भने, “अहिले ‘जेनजी पुस्ताका’ युवाहरू पनि आगामी निर्वाचनमा मतदान गर्न पाउने भएपछि नाम दर्ता गराउन भीड बढेको छ।”
निर्वाचन आयोगले यसपालि देशभरका नागरिकलाई जुनसुकै जिल्लाको निर्वाचन कार्यालयमा गएर मतदाता नाम दर्ता वा अद्यावधिक गर्न सक्ने व्यवस्था गरेको छ। कञ्चनपुरमा अन्य जिल्लाबाट पनि १०३ जनाले नाम दर्ता गराएको निर्वाचन कार्यालयले जानकारी दिएको छ।
१८ वर्ष पूरा गरेका नागरिकलाई मात्र मतदान गर्न योग्य हुने कानुनी व्यवस्था अनुसार नामावली दर्ता तथा अद्यावधिक प्रक्रिया कात्तिक ३० गतेसम्म निरन्तर चल्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित