सार्थक ब्यूरो । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला समिति, कञ्चनपुरले महाकाली प्रादेशिक अस्पतालको व्यवस्थापन सुधार गर्न १२ बुँदे मागसहित ज्ञापन पत्र बुझाएको छ। पार्टीका तर्फबाट जिल्ला सचिवालय सदस्य डम्बर विष्टले हस्ताक्षर गरेको उक्त ज्ञापन अस्पताल प्रशासनलाई बुझाइएको हो।
ज्ञापनपत्रमा अस्पतालमा अक्सिजन प्लान्ट लामो समयदेखि बन्द रहेको भन्दै तत्काल सञ्चालनमा ल्याउन आग्रह गरिएको छ। साथै, मेडिकल स्टोरमा आवश्यक औषधि नियमित आपूर्तिको व्यवस्था गर्न, करारमा कार्यरत कर्मचारीबीचको भेदभाव अन्त्य गर्न, र सेवा–सुविधामा समानता कायम गर्न माग गरिएको छ।
पार्टीले निड्स नेपाल र अस्पतालबीचको सम्झौता सकिएको भए पनि कानुनी प्रक्रिया नअपनाई पुनः ती कर्मचारीहरूलाई निरन्तरता दिएको भन्दै प्रशासनमाथि मनपरी निर्णयको आरोप लगाएको छ। त्यस्तै, स्वास्थ्य बीमा योजनाअन्तर्गत सस्तो शुल्कमा उपलब्ध हुनुपर्ने ईको, ईन्डोस्कोपी, र युएसजी जस्ता सेवा महँगा दरमा दिइएको भन्दै अस्पताल प्रशासनप्रति असन्तुष्टि प्रकट गरिएको छ।
ज्ञापनमा भर्खरै सञ्चालनमा आएको सिटी–स्क्यान मेसिनमा प्राविधिक समस्या देखिएको, बिमा सुविधाबाट बिरामीहरू वञ्चित भएको, र केही प्राविधिक कर्मचारीले राजनीतिक प्रभाव प्रयोग गरी पदको दुरुपयोग गरेको आरोप लगाइएको छ।
त्यस्तै, कन्सल्टेन्ट चिकित्सकहरू इमर्जेन्सीमा उपस्थित नहुने, अधिकांश चिकित्सक समयमै अस्पताल नआउने, र कर्मचारीहरूले ई–हाजिर प्रणालीको दुरुपयोग गर्ने जस्ता अनियमितता पनि उल्लेख छन्।
पार्टीले पूर्व जनप्रतिनिधिहरूको सिफारिसमा कानुनी प्रक्रिया नअपनाई कर्मचारी नियुक्ति गरिएको भन्दै यस्तो अभ्यास तुरुन्त रोक्न आग्रह गरेको छ।
ज्ञापनमा भनिएको छ, “अस्पताल प्रशासनले सात दिनभित्र सुधारका कदम नचाले, पार्टी सडक संघर्षमा उत्रिनेछ।”
पार्टीले अस्पताल व्यवस्थापनमा देखिएको भ्रष्टाचार, मनपरी र राजनीतिक प्रभावको अन्त्य गरी सेवा प्रवाहलाई पारदर्शी र सर्वसुलभ बनाउन माग गरेको छ।


















Discussion about this post