सार्थक ब्यूरो ।धनगढीमा करिब १० करोड रुपैयाँको लगानीमा ‘न्याचुरा रिसोर्ट’ सञ्चालनमा आएको छ। यसअघि ‘चिकेन स्टेशन’ नामक रेस्टुरेन्ट सञ्चालन गर्दै आएका युवा उद्यमी मदन भट्टले धनगढी–३, गुरुद्वारा मार्गमा नयाँ रिसोर्ट स्थापना गरेका हुन्।
भट्टका अनुसार रिसोर्ट उच्चस्तरीय अतिथि सत्कारका लागि विशेष गरी कर्पोरेट ग्राहकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको हो। रिसोर्टमा रेस्टुरेन्ट, कन्फरेन्स हल, र १७ वटा आधुनिक कोठा रहेका छन्—जसमध्ये ८ वटा सुपर डिलक्स र ७ वटा डिलक्स कोठा हुन्।
रिसोर्टको लज र रेस्टुरेन्ट छुट्टाछुट्टै भवनमा निर्माण गरिएको छ। कुल लगानीमध्ये करिब ३ करोड रुपैयाँ जग्गा खरिदमा र ७ करोड संरचना निर्माणमा खर्च गरिएको भट्टले जानकारी दिए।
रिसोर्ट परिसरमा पार्किङ, कृत्रिम झरना, पानीको फोहरा, र विभिन्न प्रजातिका हरियाली बिरुवाहरू रोपेर आकर्षक वातावरण सिर्जना गरिएको छ। प्राकृतिक र शान्त परिवेशमा पाहुनाले जाडोमा घाम ताप्न र गर्मीमा रुखको छहारीमा आराम गर्न सक्ने सुविधा पनि रहेको छ।
औपचारिक रूपमा शुक्रबार सम्पन्न उद्घाटन समारोहमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर राज ओझा र होटल व्यवसायी संघका अध्यक्ष केशवराज पाण्डेले रिसोर्टको उद्घाटन गरे।
भट्टका अनुसार, रिसोर्ट र चिकेन स्टेशन दुवै मिलाएर हालसम्म ४० जनालाई स्थायी रोजगारी प्रदान गरिएको छ। उनले भने, “धनगढीमा पनि काठमाडौंजस्तै आधुनिक रिसोर्ट आवश्यक देखेर लगानी गरेको हुँ। स्थानीय पुँजी र जनशक्ति यहीँ उपयोग हुनुपर्छ भन्ने सोचका साथ यो कदम उठाएको हुँ।”
भट्टले सहर नजिकै एकान्त र शान्त वातावरणमा स्तरीय सेवा चाहने ग्राहकलाई लक्षित गरेर रिसोर्ट सञ्चालनमा ल्याइएको बताए। उनका अनुसार, स्थानीयस्तरमै रोजगारी र व्यवसायिक अवसर सिर्जना गर्ने उद्देश्यले उनले यो लगानी गरेका हुन्।


















Discussion about this post