सार्थक ब्यूरो ।बैतडीको मेलौली देही जात्रामा सहिद लछी राजपुत दयाल स्मृति प्रतिष्ठान केन्द्रिय समिति र प्रवास शाखा भारतको संयुक्त आयोजनामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर तथा स्वच्छ पिउने पानी वितरण कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष धरमसिंह दयालको अध्यक्षतामा सम्पन्न भएको हो। शिविरमा हृदयघात, सामान्य चोटपटक, टाउको दुखाइ, पेट दुखाइ, झाडापखाला लगायतका स्वास्थ्य समस्याका बिरामीसहित करिब तीन सय जनाले उपचार सेवा पाएका छन्। मेलामा आएका हजारौं भक्तजनलाई मिनरल वाटर वितरण गरिएको थियो।
कार्यक्रम भारत शाखाका अध्यक्ष अर्जुन दयालको सभापतित्वमा र मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदीश नायकको प्रमुख आतिथ्यमा सम्पन्न भयो। इलाका प्रहरी कार्यालयका इन्चार्ज नरेन्द्र बहादुर चन्द, मेलौली नगरपालिका–८ का अध्यक्ष तपेन्द्रसिंह बिष्ट, कार्यपालिका सदस्य विजय पोखरेल, वडासदस्य दोपती दयाल, भागेश्वर गाउँपालिकाका कार्यपालिका सदस्य रमेश दयाल लगायतको उपस्थिति रहेको थियो।
शिविर संयोजक जनस्वास्थ्य निरीक्षक मुकासकान्त दयालले सञ्चालन गरेको कार्यक्रममा वक्ताहरूले प्रतिष्ठानको समाजसेवामुखी कार्यको प्रशंसा गर्दै निरन्तर सेवा विस्तार गर्न आग्रह गरे। प्रमुख अतिथि नायकले मन्दिर समितिको तर्फबाट आगामी दिनमा अझ सशक्त रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आयोजकलाई धन्यवाद दिए।
शिविरमा मुकेशकान्त दयाल, गरिमा दयाल, सुरेन्द्र दयाल, राजेन्द्र दयाल, कमला दयाल, सुनिता दयाल लगायतका स्वास्थ्यकर्मी र दयाल स्पोर्ट्स एकेडेमीका खेलाडीहरूको सक्रिय सहभागिता थियो। उनीहरूलाई आयोजकले खादा र सम्मानपत्रद्वारा सम्मान गरेको थियो।
त्यसैगरी, प्रतिष्ठानले समाजसेवाका साथै विभिन्न क्षेत्रका उपलब्धि हासिल गर्ने व्यक्तिहरूलाई समेत सम्मान गरेको छ। दामोदर हिमश्रृंखलाको चुलु फार ईस्ट हिमाल (६,०२८ मिटर) सफल आरोहण गर्ने सशस्त्र प्रहरी जवान प्रकाश दयाल, भारतको मोहालीमा सम्पन्न अल्टिमेट फाइटिङ लिगमा स्वर्णपदक विजेता सुरज दयाल, विज्ञान समूह कक्षा ११ प्रवेश परीक्षामा प्रथम हुने प्रेम दयाल र कक्षा ८ स्तरमा प्रथम हुने सुमन दयाललाई विशेष सम्मान गरिएको थियो।
कार्यक्रम समापन गर्दै अध्यक्ष अर्जुन दयालले प्रतिष्ठानका सेवामूलक कार्यक्रमलाई निरन्तरता दिँदै थप स्तरिय सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले स्वास्थ्यकर्मी, स्वयंसेवक, खेलाडी तथा सहयोगी सबैलाई धन्यवाद दिंदै समाजसेवामा एकताबद्ध भएर अघि बढ्न आग्रह गरे।


















Discussion about this post