सुदूरपश्चिममा, टीकापुरबाट सुरु भयो ट्रफी टुर

सार्थक ब्यूरो ।सुदूरपश्चिम प्रदेशमा नेपाल प्रिमियर लिग (एनपीएल) ट्रफी टुरको प्रारम्भ टीकापुरबाट गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले शुक्रबार टीकापुर पार्कस्थित महेन्द्र आरोग्य गृह अगाडिबाट ट्रफी टुरको औपचारिक शुभारम्भ गरे।
देशका अन्य पाँच प्रदेशमा टुर सम्पन्न भएपछि अन्तिम चरणमा सुदूरपश्चिम पुगेको ट्रफी टुरलाई स्थानीय क्रिकेटप्रेमीले उत्साहपूर्वक स्वागत गरेका छन्। उद्घाटन समारोहमा क्यान अध्यक्ष चन्दले सुदूरपश्चिमलाई नेपाली क्रिकेटको उर्वरभूमि बताउँदै क्रिकेटले नेपालको पहिचान विश्वभर पुर्‍याएको उल्लेख गरे। “क्रिकेटको माया र समर्थन सुदूरपश्चिममा झन् बढ्दै जाओस्,” उनले भने।
नगरप्रमुख डगौरा थारुले टीकापुरबाट एनपीएल ट्रफी टुरको सुरुवात हुनु आफूहरूका लागि गौरवको कुरा भएको बताए। टीकापुर पार्कबाट सुरु भएको ट्रफी टुर पहिलो दिन टीकापुर बजार, चिसापानी, लम्की, बौनिया, सुखड, मसुरिया, चौमाला, अत्तरिया हुँदै कञ्चनपुरको महेन्द्रनगरसम्म पुग्ने कार्यक्रम रहेको सुदूरपश्चिम रोयल्सले जनाएको छ। दोस्रो दिन धनगढी, अत्तरिया लगायत स्थानमा पनि ट्रफी र्‍याली सञ्चालन गरिनेछ।
सुदूरपश्चिम रोयल्सका प्रमुख स्वतन्त्र प्रताप शाहले यस वर्षको एनपीएलमा पहिलो स्थान हासिल गर्ने लक्ष्यसहित टोली मैदानमा उत्रिने बताए। उनले ट्रफी टुरमार्फत स्थानीय समर्थकहरूसँग प्रत्यक्ष भेटघाट र प्रतियोगिताको उत्साह बाँड्ने उद्देश्य रहेको जानकारी दिए।
ट्रफी टुरको अवसरमा स्थानीय थारु समुदायले सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए। कार्यक्रममा ठूलो संख्यामा क्रिकेटप्रेमीहरूको उपस्थिति रहेको थियो।
सुदूरपश्चिम रोयल्स यसपटक पनि गत सिजनका कप्तान दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा खेल्नेछ। टोलीमा आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दीपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मित सिंह र जोस ब्राउन समावेश छन्।
एनपीएलको दोस्रो संस्करण आगामी मङ्सिर १ गतेदेखि सुरु हुने तयारीमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित