नेपालमा अप्रत्याशित दुई दिने जेनजी आन्दोलन, त्यसपछि बनेको नयाँ सरकार, राजनीतिक दलहरूको गुट, फुट र एकता आदिबारे चिनियाँ धारणा के होला ? यो प्रश्न नेपालबाट धेरै मित्रहरूले सोधिरहनु हुन्छ । यसको उत्तरका लागि नेपाल बारेका चिनियाँ अध्येता, चीनमा अध्ययन गरेका नेपाली मित्रहरूसँग विभिन्न कोणबाट संवाद गरेर यो आलेखमा यस विषयलाई हेर्ने प्रयत्न गरिएको छ ।
त्यसो त चिनियाँ अध्येताहरू अर्को कुनै पनि मुलुकबारे नकारात्मक टिप्पणी गर्न खासै रुचाउँदैनन् । चिनियाँ सरकारले बनाउने धारणा र सोच जे हो, अध्येताहरूको पनि उस्तै सोच हुने गरेको छ । चिनियाँहरू अरूका धेरै कुरा सुन्छन्, सुनेका कुराहरूलाई अनेक कोणबाट प्रश्न गरि प्रस्ट हुन खोज्छन् तर उनीहरूको बुझाई के हो त भन्न त्यति रुचाउँदैनन् । तथापि पछिल्लो समय नेपालका घटनाबारे उनीहरू अलिक बढी मुखरित हुन थालेका छन् ।
चिनियाँहरू आफूहरू कम बोल्ने र अरूका कुरा बढी सुन्ने तथा बोलेका कुराहरूलाई सबै आयामबाट बुझ्न खोज्छन् यो नै उनीहरूको विशेषता हो । चिनिया अध्येताहरू छिमेकी देश र तेस्रो मुलुकमा भएका परिघटनाबारे सूक्ष्म जानकारी राख्छन् तर चिनियाँ कम्युनिस्ट पार्टी, चीन सरकार र विदेश मन्त्रालयले बोल्ने बाहेक उनीहरू ती मुलुकबारे टिप्पणी वा आलोचनामा आफ्ना विचार राख्न चाहँदैनन् ।
विश्वविद्यालयमा अध्येताहरू मात्र होइन, अध्ययन अनुसन्धान गर्ने चिनियाँ केन्द्रहरू पनि कुनै पनि घटनालाई मिहिन ढङ्गले विश्लेषण गरिरहेका हुन्छन् तर सुझाव दिन चाहँदैनन् । युनान विश्वविद्यालयमा रहेको नेपाल अध्ययन केन्द्रले नेपालमा हरेक साताभित्र भएका प्रमुख राजनीतिक घटनाक्रम, जेनजी आन्दोलन र निर्वाचनका सन्दर्भमा नेपाली सञ्चारमाध्यममा प्रकाशित र प्रसारण भएका सामग्रीको अध्ययनका आधारमा चिनियाँ भाषामा अनुवाद गरेर नेपाल र दक्षिण एसियाबारे सरोकार राख्ने अध्येताहरूसम्म पुग्ने गरी विच्याट अनलाइन खाता समूह बनाएर चिनियाँहरूलाई नेपालको वस्तुनिष्ठ ताजा अवस्थाबारे जानकारी दिने काम गर्छ । त्यसबाट नेपालबारेका खबरहरू चिनियाँहरूले आफ्नै चिनियाँ भाषामा अध्ययन गर्न पाएका छन् ।
चिनियाँ अध्येताहरूले चीन सरकारको नीतिसँग मेल हुने गरी धारणा राख्छन् । तर, पछिल्लो समय नेपालमा भएको जेनजी आन्दोलन, त्यसपछि बनेको सुशीला कार्की नेतृत्वको सरकार, जेनजी आन्दोलनपछि गठन भएका जेनजीका विभिन्न अमुक गुट, फागुन २१ मा हुने आम निर्वाचन र पछिल्लो समय माओवादीले आफ्नो विचार र सिद्धान्त छोडेर नयाँ कम्युनिस्ट गठबन्धन गरेपछिको राजनीतिक परिदृश्यमा चिनियाँहरूको चासो झनै बढेको छ ।
नेपालका कम्युनिस्टहरु फुट्न र जुट्न कत्ति समय पनि लगाउँदैनन् किन रु भनी चिनियाँहरूले जिज्ञासा राख्न थालेका छन् । १० वर्षे जनयुद्ध र १७ हजारको ज्यान जानेगरि विद्रोह गरेको पार्टीले पनि आफ्नो सिद्धान्त छाडेर साना कम्युनिस्ट पार्टीसँग गठबन्धन गर्नुको खास कारण के हो रु भनी चिनियाँहरू जान्न चाहन्छन् ।
दक्षिण एसियाली अध्ययन गर्ने चिनियाँ अध्येता, त्यसमा पनि नेपाल अध्ययनमा चासो राख्नेहरू यस बारेमा खास कुरा के हो रु नेपाली सञ्चारमाध्यममा आएका विश्लेषणहरू, नेपालका नेताहरूले बोलेका कुरा, नेपालका राजनीतिशास्त्रीका विश्लेषण, राजनीतिक दलमा आबद्ध भएका नेता र प्राध्यापकका विचारहरूलाई अलग अलग ढङ्गबाट अध्ययन गरि बुझ्न खोज्दैछन् ।
नेपालमा रहेका तिब्बती युवाहरूको जेनजी आन्दोलनमा संलग्नता उनीहरूको गतिविधि, उनीहरूले लिएका नक्कली नागरिकताबारे नेपालमा यो सबै कसरी हुन गयो भनी चीन सरकार र चिनियाँ अध्येताहरू चकित परेको अवस्था छ । नेपालका सञ्चारमाध्यममा प्रकाशित हुने समाचार मात्रै होइन, नेपालका सामाजिक सञ्जालमा लेखिएका, बोलिएका विषयमा पनि चिनियाँहरूको चासो छ । त्यसैले होला, नेपाली समाचारहरू चिनियाँ भाषामा अनुवाद हुने क्रम बढ्दो छ ।
चीन सरकारको नेपालसँग विशेष गरी उ एक चीन नीतिप्रति प्रस्ट होस, नेपालमा चीन विरोधी गतिविधि नहोस् र नेपालमा बसेका तिब्बतीहरू चीन विरोधी गतिविधिमा संलग्न नहोऊन् भन्ने चासो राख्छ । यस पटक तिब्बती शरणार्थीहरूको गतिविधि, उनीहरूले विभिन्न ठाउँबाट लिएको नेपाली नागरिकताको विषय नेपाली सञ्चारमाध्यममा आएपछि चीन सरकार र नेपाल अध्ययन गर्ने चिनियाँ अध्येताहरू आश्चर्यमा छन् ।
नेपालमा पैसा खर्च गरेपछि जे काम पनि गर्न सकिन्छ भन्ने चिनियाँहरूलाई थाहा नभएको होइन । तर तिब्बती शरणार्थीहरूले पैसा खर्च गरेरै नक्कली बाबु–आमा खडा गरेका र त्यसमार्फत नेपाली नागरिकता लिएका होलान् भन्ने उनीहरूले सोचेका थिएनन् । यो उनीहरूको आशङ्का भन्दा परेको कुरा थियो ।
चिनियाँहरूले आशङ्का नै नगरेको विषयमा जेनजी आन्दोलनबारे नेपाली सञ्चारमाध्यममा समाचारहरू आउन थालेपछि त्यसलाई चिनियाँहरूले अनुवाद मात्रै होइन कि गम्भीर विषयसूचीमा समावेश गरेर अध्ययन गर्न थालेका छन् । विभिन्न कुरा सार्वजनिक भइसकेपछि अब उनीहरूले लिएका नागरिकता के हुन्छ ? उनीहरूमाथि कस्ता कारबाही हुन्छन् ? जस्ता प्रश्नमा उनीहरू घोत्लिएका छन्
चीनको सिचुवान विश्वविद्यालयमा रहेको इन्स्टिच्युट अफ साउथ एसियन स्टडिजको नेपाल स्टडी सेन्टरका उपनिर्देशक डा. गाओ लियाङले नेपालको पछिल्लो घटनाक्रममा बेइजिङ अधिक सतर्क छ, नेपालमा अस्थिरताको अर्को चक्र जन्मिन सक्छ भनी नेपालखबरमा विश्लेषण गरेका छन् ।
दक्षिण एसियाली र नेपाल समेतको अध्ययन गर्ने चीनको मुख्य केन्द्र नै सिचुवान र युनान हो । सिचुवान प्रान्तमा दक्षिण एसियाली देशका बारेमा राजनीतिक, भाषिक, सांस्कृतिक सम्बन्धका अनेक सभाहरू हुने गर्छन् । चिनियाँहरूले नेपालमा तिब्बतीहरूले नक्कली नागरिकता लिएको, जेनजी आन्दोलनमा सक्रिय सहभागिता जनाएको, राजावादी भनिएका दुर्गा प्रसाईंले आयोजना गरेका आन्दोलनमा तिब्बती युवाहरूको सहभागिता देखिएको समाचार र तस्बिरले यस विषयमा चिनियाँहरूलाई थप चासो राख्ने बनाई दिएको छ ।
यति मात्र होइन, सुशीला कार्की नेतृत्वको सरकारलाई निर्वासित जीवन बिताई रहेका धर्मगुरु दलाई लामाको तर्फबाट पहिलो पटक बधाई सन्देश आउनुले पनि चिनियाँहरूमा थप चासो जगाई दिएको छ । नेपाल केन्द्रित अध्येताहरूले यसमा अलिक बढी जिज्ञासा राख्न थालेका छन् ।
चीनले नेपाललाई आफ्नो असल छिमेकी र विकास साझेदार मान्छ । नेपालको सिमाना तिब्बत(हाल सिचाङ्ग) सँग जोडिने हुनाले पनि चीनको यस विषयमा चासो हुनु स्वाभाविक हो । सन् २०२५ मा नेपाल–चीन कूटनीतिक सम्बन्ध विस्तारको ७० वर्ष पुगेको छ । र, यसै अवसरमा नेपाल–चीन सहकार्यका, विभिन्न सहयोग परियोजनाका अनेक छलफल भइरहेका छन् ।
यसका साथै कार्की नेतृत्वको सरकारले घोषणा गरेको आम निर्वाचनमा चीनका तर्फबाट सहयोग गर्ने प्रतिबद्धतासहित नेपालस्थित चिनियाँ दूतावासले सरकारलाई के–के आवश्यकतामा चीनले सहयोग गर्नुपर्ने हो आफूहरू तयार रहेको भनी सन्देश दिइसकेको छ । चीन सरकारले निर्वाचनका लागि आवश्यक पर्ने सवारीसाधन तथा अन्य केही सामग्रीहरू दिने घोषणा गरि नै सकेको छ ।
जेनजी आन्दोलनपछि र नेपालमा बदलिएको राजनीतिक परिदृश्यपछि चीनका अध्येताहरू पहिलेभन्दा बढी आवतजावत गरिरहेका छन् नेपालबाट चीन आउने राजनीतिक नेतृत्वको यात्रा कम भएको छ भने चीनबाट नेपाल जाने चिनियाँ विज्ञ, अध्येताहरूको सङ्ख्या बढेको छ । उनीहरूको अध्ययनको विषय पनि प्रस्ट छ ।
पहिलो, कार्की नेतृत्वको सरकारले नक्कली नागरिकता लिएका तिब्बती नागरिकलाई गर्ने कारबाही कस्तो हुनेछ ? र, नेपालमा जेनजीहरुको संगठनात्मक गतिविधि कसरी अगाडि बढ्ने छ ?
दोस्रो, पछिल्लो समय भारत–चीनको सम्बन्ध राम्रो हुँदै गएको छ । नेपालका कारण भारतसँगको चिनिया सम्बन्ध खराब नहोस् भन्नेमा चीन धेरै नै सतर्क छ । किनभने भारत–चीनबिच सम्बन्ध सुधार भई पाँच वर्षपछि सिधा हवाई यात्रा सुरु भएको सन्दर्भमा कतै नेपालका कारण दुई देशबिचको सम्बन्ध बिग्रने त होइन ?
तेस्रो, नेपालमा गरिएको चिनिया लगानीको सुरक्षाको अवस्था कस्तो रहनेछ भन्नेमा पनि चिनियाँहरूको चासो छ । थप लगानीको वातावरण सहज नदेखिएकोमा धेरै चिनियाँहरु पुगेका छन् । त्यसैले यस विषयमा पनि उनीहरूको चासो छ ।
नेपालको विशिष्ट परिस्थिति, जटिल राजनीतिक अवस्था, आम निर्वाचनमा राजनीतिक दलहरूको उपस्थिति, निर्वाचित भएपछि बन्ने सरकार र त्यसले चीनका सन्दर्भमा लिने नीति आदिबारे चिनियाँहरू आन्तरिक छलफल गरिरहेका छन् । नेपाली विज्ञहरूसँग परामर्श गरिरहेका छन् र विविध कोणबाट आएका विचारलाई रेखाङ्कित गर्ने काममा चिनियाँहरू लागेका छन् ।
जे होस, नेपालमा भएको जेनजी आन्दोलनका कारण चिनियाँहरूले आफ्नो छिमेकी देश नेपाल र नेपाली युवाहरूको आन्दोलन बारे जान्ने मौका पाएका छन् । खासमा भन्ने हो भने थोरै समयमै जेनजी आन्दोलनमा भएको हिंसा र आगजनीको घटनाले चिनियाँ अध्येताहरू अचम्मित छन् ।
पछिल्लो समय नयाँ पार्टी दर्ता र पुरानो पार्टीबिच देखिएको टुट–फुट र एकताको प्रक्रियाले तोकिएकै मितिमा निर्वाचन हुने वा होइन भन्नेमा पनि उनीहरूको चासो छ ।
युनान विश्वविद्यालयका दक्षिण एसियाली भाषा विभागका प्रमुख प्रा.डा वाङचुङको बुझाइमा जेनजी आन्दोलनपछि नेपालको राजनीतिमा एक किसिमको ‘नवीनता’ आवश्यक देखिएको छ । राजनीतिक नेतृत्वले आफ्नो पाटी भित्र अब ‘नवीनता’ खोज्नु पर्छ । हाम्रो सरकारले नेपालप्रति जे धारणा राखेको छ, चिनियाँ अध्येताहरूले त्यसबारे सुझाव र सल्लाह दिने हो । अहिले जेनजीको माग पुरा गर्ने, समयमा निर्वाचन गर्ने दायित्वमा बोकेको सरकालाई चीनले आवश्यक सहयोग गर्न तयार छ । -रातोपाटीबाट
(शर्मा चीनको युनान विश्वविद्यालयमा अध्यापन गर्छन् ।)



















Discussion about this post