बैतडीमा नयाँ मतदाताको उत्साह, नामावली दर्ता अभियानमा सक्रिय सहभागिता

सार्थक ब्यूरो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा बैतडीका नयाँ मतदातामा उत्साह बढेको छ। जिल्ला निर्वाचन कार्यालयमा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या निरन्तर बढ्दै गएको कार्यालयले जनाएको छ।
गत असोज ९ गतेदेखि सुरु गरिएको नामावली संकलन तथा अद्यावधिक अभियानमा हालसम्म ६१८ जनाले आफ्नो नाम दर्ता गराइसकेका छन्। कम्प्युटर अपरेटर रतन चन्दका अनुसार दर्ता भएकामध्ये २०१ महिला र ४१७ पुरुष छन्। यसका अतिरिक्त, अन्य जिल्लाबाट आएका दुई महिला र सात पुरुषले पनि यहाँको नामावलीमा दर्ता गराएका छन्, जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख पुरुषोत्तम जोशीले जानकारी दिए।
अघिल्लो रेकर्डअनुसार बैतडीमा १ लाख ६१ हजार ३१२ मतदाता सूचीकृत छन्। तीमध्ये ८२ हजार १२६ पुरुष, ७९ हजार १८४ महिला र दुई तेस्रोलिङ्गी रहेका छन्।
निर्वाचन आयोगले अनलाइन प्रणालीलाई पनि सुदृढ बनाएको छ। इच्छुक नागरिकले आयोगको वेबसाइट (www.election.gov.np
) मार्फत आफ्नो विवरण भरी आवेदन फारम प्रिन्ट गरेर फोटो र फिङ्गरप्रिन्टसहित जिल्ला निर्वाचन कार्यालयमा बुझाउन सक्ने व्यवस्था गरिएको छ।
जिल्ला निर्वाचन कार्यालयले यसअघि नाम दर्ता गर्न छुटेकालाई यो अवसर प्रयोग गर्न आग्रह गरेको छ। कार्यालयका अनुसार १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिहरूले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न पाउनेछन्।
तर मतदान गर्नका लागि १८ वर्ष पूरा भएको हुनुपर्ने कानुनी व्यवस्था कायम छ। नयाँ पुस्तामा देखिएको यो सहभागिताले बैतडीमा लोकतान्त्रिक प्रक्रियाप्रति बढ्दो विश्वास र जागरणको संकेत गरेको स्थानीय प्रशासनको टिप्पणी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित