विदेश छोडेर गाउँमा डेरी व्यवसाय : वर्षमा १३ लाख आम्दानी

सार्थक ब्यूरो । भारतमा मजदुरी गर्दै गुजारा चलाउँदै आएका शुक्लाफाँटा नगरपालिका–१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा सफल उद्यमी बनेका छन्। एक दशकअघि साइकलमा दूध बेच्न थालेका राना अहिले डेरी व्यवसायबाट वार्षिक १३ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन्।
विसं २०६८ मा दुई लिटर दूध बिक्रीबाट सुरु भएको उनको यात्रा आज एक हजार ५०० लिटर दैनिक दूध सङ्कलनसम्म पुगेको छ। गाउँगाउँका किसानबाट दूध संकलन गरी उनले झलारी बजार, अत्तरिया र कैलालीसम्म बिक्री गर्दै आएका छन्।
“भारतमा मजदुरी गर्दा धेरै दुःख पाइयो, त्यसैले स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचका साथ फर्किएँ,” रानाले सुनाए, “सुरुमा साइकलमै दूध बोकेर बेच्थें, अहिले आफ्नै डेरी सञ्चालनमा छ।”
रानाले अहिले ६ जना कामदारलाई रोजगारी दिएका छन्, जसले दैनिक दूध बोक्ने र वितरण गर्ने जिम्मेवारी सम्हाल्छन्। उनीहरूलाई मासिक २० देखि २६ हजार रुपैयाँ तलब दिइन्छ।
क्रमशः व्यवसाय विस्तार गर्दै रानाले अहिले करिब ९० लाख रुपैयाँ बराबरको सम्पत्ति जोडिसकेका छन्। “सबै खर्च घटाएर वर्षमा करिब १३ लाख रुपैयाँ नाफा हुन्छ,” उनले भने, “अब यो व्यवसायलाई परिवारकै पेशा बनाएको छु।”
रानाको उदाहरणले धेरै युवालाई स्वदेशमै अवसर खोज्ने प्रेरणा दिएको छ। विदेशमा श्रम बेच्नुभन्दा आफ्नै भूमिमा पसिना बगाउने सोचले उनी गाउँका युवामाझ ‘सफल किसान’को पहिचान बनाउन सफल भएका छन्।
स्थानीय बासिन्दा पनि रानाको मेहनत र लगनप्रति गर्व गर्छन्। “विदेशमा काम गर्नुभन्दा स्वदेशमा सानो काम गरे पनि सम्मान मिल्छ,” राना भन्छन्, “यही नै मेरो जीवनको ठूलो उपलब्धि हो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित