छाङरु–टिङ्कर पैदलमार्ग निर्माण अन्तिम चरणमा

सार्थक ब्यूरो । सुदूरपश्चिमको सबैभन्दा दुर्गम क्षेत्र मानिने व्यास गाउँपालिकाका बासिन्दा अहिले उत्साहित छन्। दशौं वर्षदेखि पैदल हिँड्दा पनि धुलो र ढुंगामात्र भेटिने बाटो अहिले सडकमा परिणत हुँदैछ। छाङरु र टिङ्कर जोड्ने पैदलमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
चीन र भारतसँग सीमा जोडिएका दोपाखे, बयली र तम्बाकु क्षेत्रका बासिन्दा पहिलो पटक बाटोका बुल्डोजर देखेर उत्साहित भएका छन्। उनीहरूको अनुहारमा देखिएको मुस्कानले यो परियोजनाले स्थानीय जीवनमा ल्याउने परिवर्तनको संकेत गर्छ।
व्यास गाउँपालिकाले संघीय सरकारको सशर्त अनुदानबाट गत आर्थिक वर्ष २०८१/८२ मा पाँच करोड ५० लाखको लागतमा बाटो निर्माणका लागि टेन्डर आह्वान गरेको थियो। निर्माण जिम्मा लिएको मिसन–देवहरी जेभीका प्रतिनिधि केशवबहादुर पालका अनुसार अहिले पैदलमार्गको धेरै भाग तयार भइसकेको छ भने दोपाखे, बयली र तम्बाकु खण्ड अन्तिम चरणमा पुगेका छन्।
तर, बजेट अभावले केही चुनौती पनि देखिएका छन्। गाउँपालिकाका लेखापाल गोपालसिंह विष्टका अनुसार एक करोड २५ लाख रुपैयाँ बजेट फ्रिज भइसकेको छ। त्यसपछि गाउँ कार्यपालिकाले आफ्नै आन्तरिक स्रोतबाट खर्च बेहोर्ने निर्णय गर्दै म्याद मंसिर १५ गतेसम्म थप गरेको छ।
“अब हामी पनि सडकबाट हिँड्न पाउनेछौं, रोगीलाई बोक्न नपर्ने होला,” बयलीकी स्थानीय महिला सुमित्रा धामी भन्छिन्। उनका अनुसार बाटो बन्नु स्थानीयका लागि केवल विकासको संकेत होइन, “मानव जीवनमा पुग्न लागेको सहजताको” अनुभव पनि हो।
चालु आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिकाले थप ५० लाख रुपैयाँ विनियोजन गरेको छ। स्थानीय बासिन्दाको अपेक्षा अब यो बाटोले केवल गाउँहरू जोड्ने काम मात्र होइन, उनीहरूलाई शिक्षा, स्वास्थ्य र बजारसँग जोड्ने माध्यम बन्नेछ।
दार्चुलाको उच्च हिमाली भेगमा निर्माण भइरहेको यो बाटो, दशकौंको बेवास्तापछि, अब त्यहाँका बासिन्दाका लागि “आशाको बाटो” बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित