सार्थक ब्यूरो ।जेनजी आन्दोलनका क्रममा मुलुकभर भएको क्षतिको विवरण संकलनका लागि गठित जाँचबुझ आयोगले प्रमाणसहितको विवरण पठाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै २३ र २४ भदौमा भएका प्रदर्शनहरूका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ तथ्याङ्क संकलन कार्य सुरु भएको जनाएको छ। यस क्रममा आयोगले सम्बन्धित व्यक्ति, संस्था र राजनीतिक दललाई घटनासँग सम्बन्धित प्रमाणहरू — जस्तै तस्बिर, भिडियो, कागजात आदि — पठाउन अनुरोध गरेको छ।
अन्तरिम सरकारले गौरिबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको उक्त आयोगले असोज ९ देखि औपचारिक रूपमा काम सुरु गरेको हो। आयोगले राजधानी काठमाडौँसहित देशका विभिन्न जिल्लामा भएका क्षतिको विवरण बुझ्नका लागि आवश्यक जानकारी संकलन ढाँचा समेत सार्वजनिक गरेको छ।
क्षतिको विवरण आयोगको आधिकारिक ईमेल ठेगानामा पठाउन सकिने बताइएको छ। साथै, आवश्यक परे हुलाकमार्फत पनि विवरण पठाउन सकिने व्यवस्था गरिएको छ, तर त्यसको सफ्ट कपी भने अनिवार्य रूपमा ईमेलबाटै पठाउनुपर्ने आयोगले स्पष्ट पारेको छ।
आयोगका अनुसार संकलित सबै प्रमाण र विवरणहरूको विश्लेषणपछि आन्दोलनका क्रममा भएको क्षतिको निष्पक्ष प्रतिवेदन तयार पारिनेछ।








Discussion about this post