नयाँ राजनीतिक दलको बढ्दो लहर : पाँच दलले पाए प्रमाणपत्र, २१ दर्ता प्रक्रियामा

सार्थक ब्यूरो । जेन–जी आन्दोलनपछिका राजनीतिक हलचलसँगै नयाँ दलहरू दर्ता गर्न निर्वाचन आयोगमा भीड बढेको छ। प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा पाँच नयाँ राजनीतिक दलले दर्ता प्रमाणपत्र प्राप्त गरेका छन् भने २१ दल अझै दर्ता प्रक्रियामा रहेका छन्।
निर्वाचन आयोगको राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार हालसम्म पाँच दललाई आधिकारिक मान्यता दिइसकिएको छ। यस्तै, माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरू एकीकृत भई बनेको नेपाली कम्युनिस्ट पार्टीसहित २१ दलको निवेदन विचाराधीन अवस्थामा रहेको आयोगले जनाएको छ।
२१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनका तयारी तीव्र बन्दै जाँदा नयाँ दल थपिने क्रम निरन्तर देखिएको हो। २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनपछि धरानका नगरप्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी, बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत संलग्न गतिशील लोकतान्त्रिक पार्टी, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, नेपाल लगायतका दलहरू आयोगमा दर्ता भइसकेका छन्। नागरिक उन्मुक्ति पार्टी, नेपालले हालै दर्ता प्रमाणपत्र पाएको हो।
त्यस्तै, विभाजनबाट बनेका दलहरूको संख्यामा पनि वृद्धि भएको छ। जनमत पार्टीबाट छुट्टिएर जनस्वराज पार्टी गठन भएको छ भने नेपाल जनमुक्ति पार्टीबाट छुट्टिएर बनेको राष्ट्रिय जनमुक्ति पार्टी पनि आयोगमा सूचीकृत भइसकेको छ। आयोगका अनुसार यी नयाँ दलहरू समावेश भएपछि दर्ता राजनीतिक दलको कुल संख्या १२६ पुगेको छ।
यसअघि वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) को दर्ता खारेज भएको छ, किनभने गौतमले आफ्नो पार्टीलाई एकीकृत समाजवादीसँग एकीकरण गराएका थिए।
यता, हाल दर्ता प्रक्रियामा रहेका दलहरूमा कुलमान घिसिङको समर्थनमा अनुप उपाध्यायले नेतृत्व गरेको उज्यालो नेपाल पार्टी, अजयकुमार राईको राष्ट्रिय परिवर्तन पार्टी, गोपीलाल न्यौपानेको नेपाल लिबरल पार्टी, नेत्रविक्रम चन्दको कम्युनिस्ट पार्टी नेपाल लगायतका दलहरू प्रमुख छन्।
त्यस्तै, नवराज सुवेदी नेतृत्वको जनयुग पार्टी, खगेन्द्र सुनारको हाम्रो पार्टी नेपाल, हिमालयबहादुर चन्दको नेपाल राष्ट्रिय युवा पार्टी र योगेन्द्र मण्डलको राष्ट्रिय ऊर्जाशील पार्टी, नेपाल पनि दर्ता प्रक्रियामा छन्।
यिनका साथै, चन्द्रप्रकाश सुवेदीले सुन्दर नेपाल निर्माण पार्टी, सविन सिग्देलले राष्ट्र निर्माण पार्टी, रत्नप्रसाद श्रेष्ठले नागरिक सर्वोच्चता पार्टी, र रियाज अहमद शेषले राष्ट्रिय स्वराज पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएका छन्।
राजनीतिक परिवर्तनको नयाँ लहरका बीच यी दलहरूको उदयले आगामी निर्वाचनमा नयाँ प्रतिस्पर्धा र विचारधाराको बहसलाई थप तीव्र बनाउने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित