कैलालीमा फरार प्रतिवादी एकैदिन ४२ जनालाई नियन्त्रणमा

सार्थक ब्यूरो ।कैलालीमा प्रहरीले फरार प्रतिवादी खोजी अभियान तीव्र बनाउँदै एकैदिन ४२ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका विभिन्न शाखाबाट परिचालन गरिएका टोलीहरूले मंगलबार जिल्लाका विभिन्न क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए।
डीएसपी सिंहका अनुसार लागूऔषध कारोबार तथा सेवन, मारपिटलगायतका मुद्दामा अदालतबाट सजाय तोकिए पनि फरार रहेका व्यक्तिहरूलाई खोजी–अनुसन्धानमार्फत पक्राउ गरिएको हो। पक्राउ पर्नेहरू मध्ये सबैभन्दा धेरै मालाखेती इलाका प्रहरी कार्यालयले २२ जनालाई नियन्त्रणमा लिएको छ।
त्यसैगरी धनगढीक्षेत्रबाट ८ जना, भजनीमा ५ जना, टीकापुरमा ४ जना तथा बौनियाबाट ३ जनालाई पक्राउ गरिएको प्रहरीको विवरणमा उल्लेख छ। पक्राउ परेकालाई आवश्यक प्रक्रिया पूरा गरी अदालतमा पेस गरिने प्रहरीले जनाएको छ।
अदालतका फैसला कार्यान्वयनमा प्रहरी निरन्तर सक्रिय रहेको उल्लेख गर्दै डीएसपी सिंहले फरार रहेका अन्य प्रतिवादीको खोजी कार्य नसकिएको बताए। यस पटक पक्राउ परेकामध्ये जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका व्यक्तिहरू भने नरहेको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित