सार्थक ब्यूरो । बारामा तय भएको मधेश जागरण कार्यक्रममा सहभागी हुन सिमरा जान लागेका नेकपा (एमाले)का शीर्ष नेताहरू बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको बताइएको छ। मधेशमा मुख्यमन्त्री नियुक्ति विवादका कारण उत्पन्न भइरहेको राजनीतिक तनावबीच एमालेका महासचिव शंकर पोखरेल, जनवर्गीय संगठन इञ्चार्ज भानुभक्त ढकाल र युवा संघ इञ्चार्ज महेश बस्नेत सिमरा उडानमा चढ्न नपाएको स्रोतले जनाएको छ।
प्रदेशमा चलिरहेका विरोध प्रदर्शनका बीच एमाले शीर्ष नेतृत्व सिमरा आउने समाचार सार्वजनिक भएपछि स्थानीय समूहले विमानस्थल परिसरमै ठूलो भीड जम्मा गरेको थियो। स्थिति संवेदनशील बनेपछि सुरक्षा निकायले उडानमा अवरोध भएको बताइएको छ।
नेता बस्नेतका अनुसार उनीहरूले बिहान १०:३५ को उडानका लागि टिकट लिए पनि विमान उडान भइसकेको छैन। “सिमरातिरबाट केही व्यक्तिले विमानस्थलको गेटमा ढुङ्गा प्रहार भएको खबर आएको छ, तर आधिकारिक रूपमा हामीलाई विस्तृत जानकारी दिइएको छैन,” उनले भने।
बस्नेतले बारामा एमालेले आयोजना गरेको कार्यक्रमका लागि हजारौँ कार्यकर्ता भेला भइसकेको दाबी गर्दै, नेतृत्व रोकिए पनि कार्यक्रम तोकिएको समयमै स्थानीय टोलीले सम्पन्न गर्ने बताए।


















Discussion about this post