सार्थक ब्यूरो ।वैदेशिक रोजगारीका लागि घर छोडेका बैतडीका एक युवक मालदिभ्समा अलपत्र परेका थिए। जिल्ला प्रशासन कार्यालय बैतडी र वैदेशिक रोजगार विभागको समन्वयमा उनको सकुशल उद्धार गरिएको प्रशासनले पुष्टि गरेको छ।
दशरथचन्द नगरपालिका–१०, बाराकोटका शङ्करसिंह बिष्टलाई दलालले “मलेसिया पठाइदिन्छु” भन्दै चार लाख रुपैयाँ असुलेर मालदिभ्स पुर्याएको परिवारले बताएको थियो। छोरालाई त्यहाँ लगेपछि कम्पनीले पासपोर्टसमेत रोकी महिनौँसम्म काममा बाध्य बनाएको भन्दै उनकी वृद्ध आमा बिस्नादेवी बिष्टले प्रशासनमा उजुरी दिएकी थिइन्।
उजुरीपछि वैदेशिक रोजगार विभागमार्फत निरन्तर पत्राचार र प्रयास गरिएको र करिब एक महिनापछि युवकको उद्धार सम्भव भएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए। उनका अनुसार उद्धारमा वैदेशिक रोजगार विभाग र कन्सुलर विभागका अधिकारी दुरुपयोग रोक्न सक्रिय रूपमा जुटेका थिए।
उद्धारको खबर पाएपछि बिष्टकी आमा र दिदी बुधबार जिल्ला प्रशासन कार्यालय पुगेर सरकारी अधिकारीप्रति आभार व्यक्त गरे। वृद्ध आमाले छोरालाई सुरक्षित फर्काउन सहयोग गर्ने सबै निकायलाई धन्यवाद दिँदै वैदेशिक रोजगारीका नाममा ठगीबाट पीडित बनेको दुख पनि सुनाइन्। उनले छोरालाई विदेश पठाउन आठ लाख रुपैयाँ ऋण लागेको उल्लेख गरिन्।
प्रमुख जिल्ला अधिकारी पौडेलले वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दै गएकाले युवाहरू बढी सचेत हुनुपर्नेमा जोड दिए।
बैतडीबाट विदेश जाने प्रवृत्ति बढ्दै गएको देखिन्छ। गत आर्थिक वर्षमा करिब दुई हजार युवाले राहदानी लिएका थिए भने चालु वर्षको साउनदेखि कात्तिकसम्म मात्रै थप ६२८ जनाले राहदानी बनाएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकले देखाउँछ।


















Discussion about this post