सार्थक ब्यूरो ।नेकपा एमालेभित्र लामो समय नेतृत्वका प्रमुख रणनीतिकार मानिँदै आएका ईश्वर पोखरेलले यसपटक पार्टी अध्यक्षमा प्रत्यक्ष दाबी प्रस्तुत गरेसँगै संगठनभित्रको शक्ति-सन्तुलन नयाँ मोडमा पुगेको छ। मंगलबार भिडियो सन्देश तथा विस्तृत वक्तव्यमार्फत ११औँ महाधिवेशनका लागि उम्मेदवारी घोषणा गरेपछि, उनी र अध्यक्ष केपी शर्मा ओलीबीचको राजनीतिक दुरी औपचारिक प्रतिस्पर्धामा रूपान्तरण भएको विश्लेषकहरू बताउँछन्।
नवौँ महाधिवेशनयता ओलीलाई निर्विवाद राख्न मुख्य भूमिका खेलेका पोखरेलले यसपालि आफू नेतृत्वमा आवश्यकीय रूपान्तरण र संगठन सक्रियताको एजेन्डा लिएर अघि आएको बताएका छन्। तर पार्टी संरचनामा ओली पक्षको बलियो पकड तथा उमेर र कार्यकालसम्बन्धी प्रावधान हटाइने निर्णयले पोखरेलका लागि चुनौती गहिरो हुने संकेत देखिन्छ।
भूतपूर्व राष्ट्रपति विद्या भण्डारीलाई एमालेमा सक्रिय भूमिकासहित प्रवेश गराउने प्रयाससँगै पोखरेल पुनः चर्चा केन्द्रमा आएका थिए। तर विधान अधिवेशनमार्फत भण्डारीको पुनःप्रवेश मार्ग अवरुद्ध भएपछि दुवै नेताबीचको दूरी बढ्दै गएको पार्टीभित्र स्वीकारिन्छ। वरिष्ठ उपाध्यक्षको भूमिकामा कटौती भएको अनुभूति र तेस्रो कार्यकालको बहसले पनि पोखरेललाई नयाँ बाटोतर्फ उन्मुख बनाएको बताइन्छ।
विगतमा ओलीको छवी मजबुत बनाउन भूमिका खेलेका पोखरेल अहिले त्यही नेतृत्वविरुद्ध उभिनु कार्यकर्तामाझ कत्तिको ग्रहणीय हुन्छ भन्ने विषयमा पार्टीभित्र मिश्रित प्रतिक्रिया छ। अर्कातर्फ, संगठनलाई व्यक्ति–निर्भर बनाएको आरोपले पार्टीभित्र जन्माइरहेको असन्तोषलाई पोखरेलले आफ्ना चुनौतीको आधार बनाउने तयारी गरेको बुझिन्छ।
हालैको जेन–जी आन्दोलन र त्यसमा सरकारको कठोर निर्णयले बाह्य रूपमा ओलीमाथि आलोचना बढेको छ। औपचारिक रूपमा एमालेभित्र यसबारे विशेष छलफल नभए पनि यो असन्तोषले पोखरेल पक्षलाई मनोवैज्ञानिक फाइदा दिलाउन सक्ने आकलन गरिएको छ।
एमालेभित्र दुवै धारबीचको दूरी प्रतिनिधि छनोट प्रक्रियामै देखिन थालेको छ। पोखरेलले यसपटक पूरा प्यानलसहित प्रतिस्पर्धामा जाने संकेत दिएका छन्। विधान संशोधनपछि कम पदहरूमा धेरै आकांक्षी परेपछिका असन्तुष्ट तथा भण्डारीप्रति सहानुभूति राख्ने समूहलाई समेटेर ‘वैकल्पिक संरचना’ निर्माण गर्ने प्रयास भइरहेको स्रोतहरू बताउँछन्।
मोरङ, सुनसरी, कास्की लगायत स्थानमा देखिएका विवादले दुवै पक्षबीच प्रतिनिधि प्रभावका लागि प्रतिस्पर्धा तीव्र हुँदै गएको छ। मंसिर १३ गते हुने प्रतिनिधि चयनपछि महाधिवेशनको आधारभूत शक्ति–परिणाम स्पष्ट हुने अनुमान गरिएको छ।
पोखरेल समर्थकहरू यस प्रतिस्पर्धालाई ‘संगठन बचाउने अभियान’ बताइरहेका छन् भने ओली समूहले लामो समय नेतृत्वसँगै बसेको व्यक्ति अचानक प्रतिद्वन्द्वी बन्नु राजनीतिक रूपमा अस्वाभाविक भएको तर्क गरेको छ। महाधिवेशन नजिकिँदै जाँदा यी दुई धारबीचको प्रतिस्पर्धा एमालेभित्र दशकपछि देखिएको ठूलो शक्ति–परीक्षणका रूपमा हेरिन थालेको छ।
पोखरेलले नयाँ अध्याय खोल्न सफल हुन्छन् कि पूर्व उपाध्यक्ष भीम रावलजस्तै प्रतीकात्मक चुनौतीमै सीमित हुन्छन्—आगामी साताहरूले नै एमालेको भविष्य दिशानिर्देशन गर्नेछन्।


















Discussion about this post