सुदूरपश्चिममा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

सार्थक ब्यूरो ।सुदूरपश्चिम प्रदेशमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन भएको अभियानको समापन तथा समीक्षा कार्यक्रम बुधबार धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा आयोजित थियो।
अभियान सशक्त महिला, समृद्ध नेपाल, गैरसरकारी संस्था महासंघ नेपाल, संयुक्त राष्ट्रसंघको ‘युनाइट’ पहल, युरोपियन युनियन तथा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा सम्पन्न भएको हो। यस वर्ष अभियानले महिला तथा किशोरीमाथि हुने डिजिटल हिंसा अन्त्यलाई प्राथमिक विषय बनाएको थियो।
समिक्षा कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निरीक्षक सरस्वती अधिकारीले पछिल्ला तीन वर्षका साइबर अपराध मुद्दाको तथ्याङ्क सार्वजनिक गरिन्। उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा प्रदेशभर १६ मुद्दा दर्ता भएका थिए भने २०८१/८२ मा घटेर १२ पुगे। चालु वर्ष हालसम्म ६ मुद्दा दर्ता भएका छन्। कञ्चनपुर र कैलालीमा उजुरी संख्या अन्य जिल्लाभन्दा बढी देखिएको अधिकारीले बताइन्।
कार्यक्रममा युरोपेली संघको नेपाल प्रतिनिधिमण्डलकी उपप्रमुख ह्याथ्रु लुआगीले डिजिटल क्षेत्रमा बढ्दो हिंसा रोक्न डिजिटल साक्षरता मजबुत बनाउनुपर्नेमा जोड दिइन्।
त्यस्तै, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले हिंसामुक्त र समावेशी समाज निर्माणका लागि विभेद न्यूनिकरणमा सबै सरोकारवालाको सक्रियता आवश्यक रहेको बताए।
समापन कार्यक्रममा जनचेतनामूलक नाटक, विद्यार्थी सहभागिता तथा प्रतिकात्मक चित्रकला प्रदर्शनीमार्फत डिजिटल माध्यममा बढ्दै गइरहेको लैङ्गिक हिंसाबारे सचेतना फैलाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित