एमाले महाधिवेशनले सक्षम नेतृत्व जन्माउने विद्या भण्डारीको विश्वास

सार्थक ब्यूरो ।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्व उपाध्यक्ष विद्या भण्डारीले नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन सफल रूपमा सम्पन्न भई पार्टीले योग्य र क्षमतावान् नेतृत्व चयन गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै उहाँले जनताको बहुदलीय जनवाद (जबज) का मूल सिद्धान्तलाई आत्मसात् गर्दै महाधिवेशनले पार्टीको भावी दिशा तय गर्ने उल्लेख गर्नुभयो। महाधिवेशनमा सहभागी प्रतिनिधिहरू राजनीतिक रूपमा परिपक्व र आ–आफ्ना क्षेत्रका जिम्मेवार नेतृत्व भएकाले पार्टीको आन्तरिक अवस्था, मुलुकको बदलिँदो राजनीतिक परिस्थिति तथा अन्तर्राष्ट्रिय परिवेशबारे राम्रो समझ रहेको उहाँको भनाइ छ।
महाधिवेशन पार्टीको सर्वोच्च निर्णयकारी निकाय भएकाले लोकतान्त्रिक संवाद, स्वस्थ प्रतिस्पर्धा र आपसी सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउँदै सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुनेमा उहाँले भरोसा व्यक्त गर्नुभयो।
पूर्वराष्ट्रपति भण्डारीले देश हाल तरल राजनीतिक अवस्थाबाट गुज्रिरहेको जनाउँदै विगतमा प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै थप उपलब्धि हासिल गर्न एकताबद्ध प्रयास आवश्यक रहेको बताउनुभयो। साथै, मुलुक र जनताप्रति उत्तरदायी तथा दूरदृष्टिपूर्ण निर्णय लिन महाधिवेशन सफल होस् भन्ने कामनासहित शुभकामना व्यक्त गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित